झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका नाममा देशका विभिन्न स्थानमा भएको आगजनी, तोडफोड र लुटपाटको कडा शब्दमा आलोचना गरेका छन्। झापा निर्वाचन क्षेत्र नं. ५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्न मंगलबार दमकमा आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई ‘देशका दुश्मन’ र ‘विकासका विरोधी’को संज्ञा दिए।
ओलीले दमकमा एमाले नेतृत्वको सरकारका बेला निर्माण गरिएको बिजनेस कम्प्लेक्समा आगजनी गर्ने प्रयास भएको उल्लेख गर्दै त्यसको महत्व नबुझी गरिएको कार्य भएको बताए। “सार्वजनिक र निजी सम्पत्ति जलाउनेहरू देशका दुश्मन हुन्। उनीहरू विकासका विरोधी हुन्,” उनले भने।
उनले जेन–जी आन्दोलनका नाममा घर, सिंहदरबार र संसद् भवनमा आगजनी गर्ने घटनालाई अपराध र आतंकको संज्ञा दिँदै भने, “उनीहरूले क्रान्ति गरेका होइनन्, विकास गरेका होइनन्। देशमा विध्वंश मच्चाएर अस्थिरता ल्याउने प्रयास गरेका हुन्।”
निर्वाचन सन्दर्भमा ओलीले २०८४ सालमा हुने तय भएको निर्वाचन २०८२ मै गराइएको प्रसंग उल्लेख गर्दै आगजनी र अराजकता गरेर चुनाव गराउनुपर्ने आवश्यकता नरहेको बताए। “हामी ०८४ नै पर्खिरहेका थियौँ। तर अहिलेको चुनावबाट एमाले पहिलो पार्टी बन्छ,” उनले दाबी गरे। बहुमत नआए पनि एमाले सबैभन्दा ठूलो दल बन्ने उनको भनाइ थियो।
ओलीले आतंक, अराजकता र लुटपाट नेपाली समाजको चरित्र नभएको उल्लेख गर्दै नेपाली समाज शान्तिप्रिय र मेहनती रहेको बताए। “अर्काको सम्पत्ति लुट्ने जात नेपाली होइन। नेपाली शान्तिप्रिय र गरिखाने जाति हो,” उनले भने।
कार्यक्रममा एमालेले झापा–५ मा विकास, सुशासन र पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।



