हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा निर्माण सम्पन्न भएको आधुनिक भवनको बिहीबार औपचारिक उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आयोजित कार्यक्रममा भवन उद्घाटन गर्दै अस्पतालको सेवा थप विस्तार गर्दै चाँडै सञ्चालनमा ल्याइने बताएका छन्।
करिब २८ करोड ५४ लाख ६३ हजार रुपैयाँ लागतमा निर्माण गरिएको तीन ब्लकको आधुनिक भवन निर्माण कार्य सम्पन्न भएसँगै अस्पतालले सेवा विस्तारको तयारी थालेको छ। नयाँ संरचना सञ्चालनमा आएपछि अस्पतालमा २ सय नयाँ बेड थपिने र स्वास्थ्य सेवा अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालन भइरहेको हेटौँडा अस्पताल मकवानपुर जिल्लाको प्रमुख स्वास्थ्य सेवा केन्द्रका रूपमा परिचित छ। यस अस्पतालले मकवानपुरसँगै बारा, पर्सा र रौतहट लगायत जिल्लाबाट आउने बिरामीलाई समेत सेवा प्रदान गर्दै आएको छ।
सहरी विकास तथा भवन कार्यालय हेटौँडाले निर्माण गरेको नयाँ भवन तीन वटा ब्लकमा विभाजित गरिएको छ। प्राविधिक विवरणअनुसार एक ब्लक अण्डरग्राउण्डसहित ६ तले र बाँकी दुई ब्लक ५–५ तले संरचनामा निर्माण गरिएको छ।
भवनमा आधुनिक स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार समावेश गरिएको छ। भवनमा लिफ्ट, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालय, हावादार वार्ड, फायर सेफ्टी प्रणाली, सीसीटीभी निगरानी, आधुनिक इलेक्ट्रिकल तथा स्यानिटरी प्रणाली जडान गरिएको छ। साथै भवन भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदिप ज्ञवालीका अनुसार नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालको सेवा व्यवस्थापन अझ व्यवस्थित हुनेछ। उनका अनुसार यस २ सय बेडको संरचनामा ओपीडी सेवा, आकस्मिक कक्ष, भर्ना सेवा, प्रयोगशाला, एक्स–रे, फार्मेसी तथा प्रशासनिक कक्ष फरक–फरक संरचनामा व्यवस्थित गरिनेछ।
हाल हेटौँडा अस्पतालमा ३ सय बेड क्षमता रहेको छ। बिरामीको चाप बढ्दै जाँदा उपलब्ध बेड प्रायः भरिने अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ। नयाँ भवन सञ्चालनसँगै २ सय बेड थपिँदा अस्पतालको कुल क्षमता ५ सय बेड पुग्नेछ।
उपकुलपति ज्ञवालीका अनुसार नयाँ संरचना सञ्चालनपछि सघन उपचार सेवा (आईसीयू), सुत्केरी वार्ड, शल्यक्रिया कक्ष तथा विशेषज्ञ सेवा विस्तार गर्न सहज हुनेछ। अस्पतालले अब डायलासिस सेवा विस्तार गर्ने तयारी पनि गरिरहेको छ। हाल धेरै बिरामीहरू मिर्गौला उपचारका लागि चितवन वा काठमाडौँ जानुपर्ने बाध्यता रहेको छ।
अस्पताल प्रशासनले आगामी दिनमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने लक्ष्य समेत राखेको छ। प्रदेशमै सीमित अस्पतालमा मात्र उपलब्ध यस्तो सेवा हेटौँडामा पनि सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ।
यसका साथै मुटुरोग विशेषज्ञ सेवा, कार्डियाक केयर, महिला तथा प्रसूति सेवा, शल्यक्रिया सेवा तथा मानसिक स्वास्थ्य सेवा समेत विस्तार गर्ने योजना रहेको छ।
उपकुलपति ज्ञवालीका अनुसार अस्पताललाई सामान्य उपचार केन्द्रमा सीमित नराखी विशेषज्ञ तथा जटिल रोगहरूको उपचार हुने क्षेत्रीय स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने रणनीति अघि बढाइएको छ।
हेटौँडा अस्पताल लामो समयदेखि क्षेत्रीय स्तरको प्रमुख स्वास्थ्य सेवा केन्द्र भए पनि भौतिक पूर्वाधार अभावका कारण सेवा विस्तारमा चुनौती देखिँदै आएको थियो। नयाँ भवन सञ्चालनमा आएपछि बिरामीको चाप व्यवस्थापन गर्न सहज हुने, उपचार सेवा थप प्रभावकारी हुने तथा विशेषज्ञ सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकासलाई तीव्रता दिएको बताए। उनले नयाँ संरचनाले हेटौँडा मात्र नभई आसपासका जिल्लाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
भवन उद्घाटन कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदिप ज्ञवाली, रजिस्ट्रार भीमसागर गुरागाई लगायतको उपस्थिति रहेको थियो।



