बागमती प्रदेशमकवानपुरहेटौँडामा एलपी ग्यास अभावको गुनासो, आपूर्ति भने नियमित : प्रशासनद्वारा अनुगमन सुरु

हेटौँडामा एलपी ग्यास अभावको गुनासो, आपूर्ति भने नियमित : प्रशासनद्वारा अनुगमन सुरु

हेटौँडा | हेटौँडा बजारमा एलपी ग्यास सहज रूपमा नपाएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। बजारमा ग्यासको अभाव देखिएको गुनासो आए पनि प्रशासन र भन्सार स्रोतले भने ग्यास आयात तथा आपूर्तिमा कुनै कमी नभएको बताएका छन्।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त अधिकारीले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हुनसक्ने आशंकामा आजदेखि ग्यास डिपोहरूको अनुगमन सुरु गरिएको जानकारी दिए। उनका अनुसार ग्यास डिलर्स एसोसिएसन र सम्बन्धित कम्पनीहरूसँग समन्वय गरेर बजारको वास्तविक अवस्था बुझ्ने काम भइरहेको छ।

सीडीओ अधिकारीले भने, “सरकारले ग्यास वितरणका लागि प्राथमिकताको व्यवस्था गरेको छ। सरकारी अस्पताल, विद्यार्थी बस्ने होस्टेल र आवासीय प्रयोगलाई प्राथमिकता दिनुपर्ने प्रावधान छ। अहिले भारतबाट ग्यास आयात घटेको छैन र कम्पनीहरूले पनि नियमित रूपमा उत्पादन तथा आपूर्ति गरिरहेका छन्।”

उनका अनुसार बजारमा फैलिएको हल्लाका कारण उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास सञ्चय गर्न थालेपछि माग र आपूर्तिको सन्तुलन बिग्रँदा अभावजस्तो अवस्था देखिएको हो। “हल्लाका कारण उपभोक्ताले बढी सञ्चय गर्न थालेपछि बजारमा अभाव देखिएको हो,” उनले भने।

प्रशासनले उपभोक्ता हित संरक्षण, उद्योग वाणिज्य महासंघ, प्रहरी र गुणस्तर विभागको संयुक्त टोली परिचालन गरी ग्यास डिपोहरूको अनुगमन सुरु गरेको जनाएको छ। अनुगमनका क्रममा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

यता बीरगन्ज भन्सार कार्यालयका अनुसार ग्यास आयात नियमित रूपमा भइरहेको छ। भन्सार अधिकृत तथा सूचना अधिकारी उदयसिंह विष्टले हालसम्म ग्यास बोकेका बुलेट ट्याङ्करको आवागमनमा कुनै कमी नभएको बताए।

“अहिलेसम्म ग्यास बुलेटहरू नियमित रूपमा आइरहेका छन्। आयातमा कुनै कमी देखिएको छैन,” उनले भने। उनका अनुसार ग्यास बुलेटहरू एक–दुई दिनको अन्तरालमा नाकाबाट नेपाल भित्रिने गरेका छन्।

तर स्थानीय उपभोक्ताका अनुसार बजारमा भने एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ। ग्यास विक्रेताले मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेका छन्।

हेटौँडाकी स्थानीय अस्मिता अधिकारीले लामो समय पालो कुर्दा पनि खाना पकाउने ग्यास नपाएको गुनासो गरिन्। उनको  जस्तै गुनासो धेरैका छन् ।

यता ग्यास विक्रेताहरूले भने कम्पनीबाट पर्याप्त आपूर्ति नहुँदा मागअनुसार ग्यास उपलब्ध गराउन नसकिएको बताएका छन्।

स्थानीय विक्रेताका अनुसार पछिल्लो समय सम्भावित अभावको आशंकामा उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास सञ्चय गर्न थालेपछि बजारमा अभाव देखिएको हो। पहिले दैनिक सीमित सङ्ख्यामा बिक्री हुने ग्यास सिलिण्डर अहिले केही घण्टामै सकिने गरेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img