हेटौँडा । हेटौँडामा ‘बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी’ शुक्रबारदेखि सुरु हुने भएको छ। मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको प्रदर्शनीबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
हेटौँडा–२ स्थित पल्पसा सदनमा चैत १३ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब ४० वटा स्टल रहनेछन्। प्रदर्शनीमा बागमती प्रदेशका सिन्धुली जिल्ला, रामेछाप जिल्ला, काभ्रेपलाञ्चोक जिल्ला, काठमाडौं, चितवन जिल्ला र मकवानपुर जिल्लाका कृषक तथा कृषि उद्यमीहरूको सहभागिता रहनेछ।
संघका अध्यक्ष प्रमोद सिंह रानाभाटका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य युवा पुस्तालाई कृषिमा आकर्षित गर्नु र कृषकहरूको मनोबल उच्च बनाउनु हो। प्रदर्शनीमा विषादीमुक्त जैविक खाद्यान्नलाई प्राथमिकता दिइनेछ।
स्टलहरूमा कोदो, जुनेलो, फापरको पिठो, विभिन्न गेडागुडी, मसला, केराको चिप्स तथा अचारजस्ता खाद्य सामग्रीसँगै बाटेको धुप, गोबरबाट बनेका दियो र गाँजाको रेशा प्रयोग गरी तयार पारिएका कपडाहरू समेत बिक्रीका लागि राखिनेछन्। साथै आधुनिक कृषि प्रविधि तथा उपकरणहरूको समेत प्रदर्शन गरिनेछ।
प्रदर्शनी आयोजना गर्न करिब ५ लाख ७५ हजार रुपैयाँ लागत अनुमान गरिएको छ। यसमध्ये बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ५ लाख रुपैयाँ विनियोजन गरेको छ।
कृषक तथा अवलोकनकर्तालाई प्रोत्साहन गर्न स्टल शुल्क र प्रवेश निःशुल्क राखिएको छ। साथै टाढाबाट आउने सहभागीहरूका लागि खाजा तथा बसोबासको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।
संघका अनुसार यस प्रदर्शनीले कृषि उपजको विविधिकरण, बजारीकरण र व्यावसायिक ज्ञान अभिवृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। कृषिको महत्व बुझाउने प्रभावकारी प्लेटफर्मका रूपमा प्रदर्शनी स्थापित हुने विश्वास पनि संघले व्यक्त गरेको छ।



