हेटौँडा । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि मकवानपुरका दुईवटै क्षेत्रमा चुनावी खर्च विवरण बुझाउने क्रम जारी छ। प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार हालसम्म ४४ मध्ये २७ जना उम्मेदवारले मात्र खर्च विवरण पेश गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर–१ मा १४ जनाले विवरण बुझाएका छन्। यहाँ महालक्ष्मी उपाध्याय डिनाले सबैभन्दा बढी ३१ लाख ६४ हजार रुपैयाँ खर्च देखाउँदा रामेश्वर राना मगरले १५ लाख ८८ हजार ४६५ रुपैयाँ खर्च देखाएका छन्। अन्य उम्मेदवारहरूको खर्च भने लाखको तल्लो सीमादेखि ५० हजारभन्दा कमसम्म सीमित देखिएको छ। यसै क्षेत्रमा विजयी प्रकाश गौतमसहित केही प्रमुख उम्मेदवारले भने अझै खर्च विवरण बुझाएका छैनन्।
यता निर्वाचन क्षेत्र नम्बर–२ मा १३ जनाले खर्च विवरण पेश गरेका छन्। विजयी प्रशान्त उप्रेतीले २७ लाख ९८ हजार ८११ रुपैयाँ खर्च देखाउँदा बुद्ध लामाले १४ लाख ६२ हजार ९२५ रुपैयाँ खर्च विवरण पेश गरेका छन्। अन्य दलका उम्मेदवारहरूको खर्च केही लाखदेखि एक लाखभन्दा कमसम्म देखिएको छ भने एमालेका महेश बर्तौलालगायत केही उम्मेदवारले अझै विवरण बुझाएका छैनन्।
निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार अन्तिम नतिजा प्रमाणित भएको मितिबाट एक महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ। सोअनुसार उम्मेदवारहरूलाई चैत २४ गतेसम्मको समयसीमा दिइएको छ।
चुनावी प्रतिस्पर्धासँगै खर्चमा देखिएको ठूलो अन्तरले दल र उम्मेदवारहरूको रणनीति, पहुँच र स्रोतको फरक चित्र प्रस्तुत गरेको छ।



