बागमती प्रदेशमकवानपुरघट्दो तथ्याङ्कबीच मकवानपुरमा लैङ्गिक हिंसा चिन्ताजनक

घट्दो तथ्याङ्कबीच मकवानपुरमा लैङ्गिक हिंसा चिन्ताजनक

spot_img

हेटौँडा । बागमती प्रदेशका काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा लैङ्गिक तथा घरेलु हिंसाका कुल घटना घट्दो देखिए पनि मकवानपुरमा लैङ्गिक हिंसाको अवस्था चिन्ताजनक देखिएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को जेठसम्म मकवानपुरमा ७१ वटा लैङ्गिक हिंसाका घटना दर्ता भएका छन्, जुन प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जेठसम्म १० जिल्लामा १ हजार ३३७ वटा लैङ्गिक तथा घरेलु हिंसाका घटना दर्ता भएका छन् । तीमध्ये ३७७ लैङ्गिक हिंसा र ९६० घरेलु हिंसाका घटना छन् । कुल घटनामा चितवन ४९४ घटनासहित अगाडि देखिए पनि लैङ्गिक हिंसाको छुट्टै तथ्याङ्कमा मकवानपुर शीर्ष स्थानमा छ ।

मकवानपुरमा यस अवधिमा ७१ लैङ्गिक हिंसा र २४५ घरेलु हिंसाका घटना दर्ता भएका छन् । लैङ्गिक हिंसातर्फ मकवानपुरपछि चितवनमा ६१, सिन्धुलीमा ५१, नुवाकोटमा ४२, सिन्धुपाल्चोकमा ३९, काभ्रे र धादिङमा समान ३८/३८, रामेछापमा १८, दोलखामा १५ र रसुवामा ४ वटा घटना दर्ता भएका छन् ।

घरेलु हिंसामा भने चितवनपछि मकवानपुर दोस्रो स्थानमा छ । चितवनमा ३३३ वटा घरेलु हिंसाका घटना दर्ता हुँदा मकवानपुरमा २४५ वटा घटना दर्ता भएका छन् । सिन्धुलीमा १०३, नुवाकोटमा ९२, धादिङमा ६८, सिन्धुपाल्चोकमा ५८, दोलखामा २२, काभ्रेमा १७, रसुवामा १२ र रामेछापमा १० वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् ।

अघिल्ला वर्षको तुलना गर्दा मकवानपुरमा कुल घटना केही घटे पनि लैङ्गिक हिंसा घटेको देखिँदैन । आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरमा ८७ लैङ्गिक हिंसा र ३०८ घरेलु हिंसाका घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/०८२ मा लैङ्गिक हिंसा ७० र घरेलु हिंसा २७७ रहेकोमा चालु आर्थिक वर्षको जेठसम्म नै लैङ्गिक हिंसा ७१ पुगिसकेको छ ।

प्रदेशको समग्र अवस्था हेर्दा भने लैङ्गिक तथा घरेलु हिंसाका घटना घट्दो क्रममा देखिएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशका १० जिल्लामा १ हजार ८८१ घटना दर्ता भएकामा आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ८३६ घटना दर्ता भएका थिए । चालु आर्थिक वर्षको जेठसम्म १ हजार ३३७ घटना दर्ता भएका छन् ।

प्रदेशका १० जिल्लामा लैङ्गिक हिंसामध्ये जबरजस्ती करणीका घटना सबैभन्दा धेरै छन् । आर्थिक वर्ष २०८०/०८१ मा जबरजस्ती करणीका २८७, आर्थिक वर्ष २०८१/०८२ मा २५३ र चालु आर्थिक वर्षमा हालसम्म १९० घटना दर्ता भएका छन् । तीन वर्षको अवधिमा प्रदेशका १० जिल्लामा जबरजस्ती करणीका ७३० घटना दर्ता भएका छन् ।

तीन आर्थिक वर्षमा बहुविवाहका ११७, बाल यौन दुराचारका १४८, बाल विवाहका ८, अभद्र व्यवहारका ९६, कर्तव्य ज्यानसम्बन्धी ५२ र गर्भपतनसम्बन्धी ३ घटना दर्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीले चालु आर्थिक वर्षको जेठसम्म प्रदेशका १० जिल्लामा १ हजार ३३७ लैङ्गिक तथा घरेलु हिंसाका घटना दर्ता भएको जानकारी दिए । उनले उजुरीमा सहज पहुँच, सचेतना र कानुनी कारबाहीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img