हेटौँडा । मकवानपुर जिल्लामा सुरक्षा निगरानीका लागि जडान गरिएका २६१ वटा सिसिटिभी क्यामेरामध्ये १३३ वटा मात्रै सञ्चालनमा रहेका छन्। बाँकी १२८ वटा क्यामेरा बन्द हुँदा चोरी, सडक दुर्घटना तथा अन्य आपराधिक घटनाको अनुसन्धान प्रभावित भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्लाका मुख्य बजार क्षेत्र, राजमार्ग, प्रवेश नाका तथा सुरक्षा संवेदनशील स्थानमा स्थानीय तह, प्रदेश सरकार, सरकारी कार्यालय, प्रहरी र अन्य निकायको सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो। तर हावाहुरी, फाइबर लाइनमा देखिएको समस्या, उपकरणमा आएको खराबी, तोडफोड तथा नियमित मर्मतसम्भारको अभावका कारण ठूलो संख्याका क्यामेरा सञ्चालनबाहिर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले सञ्चालनमा रहेका सिसिटिभी क्यामेराले सुरक्षा निगरानी तथा अपराध अनुसन्धानमा महत्वपूर्ण सहयोग पुर्याइरहेको बताए। यद्यपि, जिल्लाको वर्तमान सुरक्षा आवश्यकता पूरा गर्न सञ्चालनमा रहेका क्यामेरा पर्याप्त नभएको उनले जानकारी दिए।
उनका अनुसार सवारीसाधनले ठक्कर दिएर फरार हुने ‘हिट एन्ड रन’ दुर्घटना, चोरी, रातिको समयमा हुने आपराधिक गतिविधि तथा शङ्कास्पद व्यक्ति र सवारीसाधन पहिचान गर्न सिसिटिभी फुटेज उपयोगी हुने गरेको छ।
क्यामेरा सञ्चालनमा रहेका क्षेत्रमा घटनामा संलग्न व्यक्तिको हुलिया, प्रयोग भएको सवारीसाधन र घटनाको समय पहिचान गर्न सहज हुने गरेको छ। तर क्यामेरा बिग्रिएका स्थानमा भएका घटनाको प्रमाण सङ्कलन तथा अनुसन्धान गर्न कठिनाइ हुने गरेको काफ्लेले बताए।
हेटौँडा बजार क्षेत्रमा सडक आसपासका संरचना निर्माण गर्ने क्रममा पनि विभिन्न स्थानमा जडान गरिएका क्यामेरा तथा तारमा क्षति पुगेको प्रहरीले जनाएको छ। बजार क्षेत्रका धेरै क्यामेरा बिग्रिएका कारण दुर्घटना, चोरी तथा अन्य आपराधिक घटनाको अनुसन्धानमा समस्या भइरहेको काफ्लेको भनाइ छ।
बन्द अवस्थामा रहेका क्यामेरा मर्मतका लागि प्रहरीसँग छुट्टै बजेट नभएको उनले बताए। बिग्रिएका क्यामेरा मर्मत तथा आवश्यक स्थानमा नयाँ क्यामेरा जडान गर्न स्थानीय तह, प्रदेश सरकार र सम्बन्धित सरकारी निकायसँग समन्वय भइरहेको छ। तर समन्वयका प्रयास अपेक्षित गतिमा कार्यान्वयन हुन नसकेको प्रहरीले जनाएको छ।
निजी व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानले जडान गरेका सिसिटिभी क्यामेरा भने प्रहरीको प्रत्यक्ष निगरानी प्रणालीमा जोडिएका छैनन्। प्रचलित मापदण्डअनुसार निजी व्यक्ति तथा व्यवसायीले जडान गरेका क्यामेराको विवरण जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउनुपर्ने काफ्लेले बताए।
उनले सिसिटिभी क्यामेरा जडान गरेका व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानलाई मापदण्डअनुसार जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराउन आग्रह गरेका छन्।



