समाजमकवानपुरमा पाँच व्यवसायलाई नौ लाख जरिवाना, सुधार र अनुमति नल्याएसम्म सञ्चालनमा रोक

मकवानपुरमा पाँच व्यवसायलाई नौ लाख जरिवाना, सुधार र अनुमति नल्याएसम्म सञ्चालनमा रोक

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा दुई दिन गरिएको संयुक्त बजार अनुगमनका क्रममा हेटौँडा र मनहरीका पाँच व्यवसायलाई कुल नौ लाख रुपैयाँ जरिवाना गरिएको छ। हेटौँडाका चार मासु पसललाई सरसफाइ, खाद्य स्वच्छता, भण्डारण तथा कानुनी मापदण्ड पालना नगरेको भन्दै कुल छ लाख रुपैयाँ र मनहरीको ‘सानो मटु हेल्थ केयर’लाई आवश्यक अनुमति तथा बिल–बिजकबिना सञ्चालन गरेको भन्दै तीन लाख रुपैयाँ जरिवाना गरिएको हो।

कारबाहीमा परेका सबै व्यवसायलाई आवश्यक सुधार, दर्ता तथा अनुमति पूरा नगरेसम्म सञ्चालन नगर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिए।

बिहीबार हेटौँडा–१ र २ क्षेत्रमा सञ्चालित मासु पसलको अनुगमनका क्रममा न्यौपाने मासु पसल र ओम् फ्रेश मिट सपलाई जनही दुई लाख रुपैयाँ तथा क्वालिटी मिट सप र सलाम मिट सपलाई जनही एक लाख रुपैयाँ जरिवाना गरिएको थियो।

सुवेदीका अनुसार न्यौपाने मासु पसलको बिक्री कक्षदेखि मासु काट्ने र भण्डारण गर्ने स्थानसम्म अत्यधिक फोहोर तथा दुर्गन्ध भेटिएको थियो। फ्रिज अव्यवस्थित रहेको, भुइँमा जथाभावी मासु राखिएको र ग्राहकलाई मासु बिक्री गर्ने स्थानसमेत अस्वच्छ पाइएपछि उक्त पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो।

क्वालिटी मिट सपमा मासु खुला रूपमा राखिएको, फ्रिज तथा भण्डारण प्रक्रिया मापदण्डअनुसार नभएको र मासु काट्ने तथा बिक्री गर्ने स्थानमा आवश्यक सरसफाइ कायम नगरिएको प्रशासनले जनाएको छ। सलाम मिट सपमा मासु काट्ने स्थान अव्यवस्थित रहेको, बिक्रीका लागि राखिएको मासु अस्वच्छ अवस्थामा भेटिएको र फ्रिजमा राखिएको केही मासु बिग्रिएको पाइएको थियो।

त्यसैगरी, ओम् फ्रेश मिट सपले आवश्यक दर्ता तथा कारोबारसम्बन्धी कागजात पूरा नगरी बिल प्रयोग गरेको र कानुनी प्रक्रियाविपरीत कारोबार गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको सुवेदीले बताए। कारबाहीमा परेका चारै मासु पसललाई सरसफाइ, सुरक्षित भण्डारण र व्यवसाय सञ्चालनसम्बन्धी आवश्यक सुधार नगरेसम्म सञ्चालन नगर्न निर्देशन दिइएको छ।

यसैगरी, शुक्रबार मनहरीमा गरिएको संयुक्त अनुगमनका क्रममा ‘सानो मटु हेल्थ केयर’ आवश्यक दर्ता, स्वास्थ्य सेवा सञ्चालन अनुमति तथा बिल–बिजकबिना सञ्चालन भएको पाइएपछि तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। संस्थालाई तत्काल सेवा बन्द गर्न निर्देशन दिँदै सम्बन्धित निकायबाट आवश्यक स्वीकृति नल्याएसम्म सञ्चालन गर्न रोक लगाइएको हो।

उक्त संस्था चितवनको भरतपुरमा दर्ता भएको विवरणका आधारमा मनहरीमा सञ्चालन भइरहेको पाइएको सुवेदीले जानकारी दिए। संस्थाले मकवानपुरमा उद्योग तथा व्यवसाय दर्ता अद्यावधिक गरेको प्रमाण प्रस्तुत गर्न नसकेको र स्वास्थ्य सेवा सञ्चालनका लागि प्रदेश सरकार तथा सम्बन्धित स्वास्थ्य निकायबाट अनुमति नलिएको पाइएको थियो।

संस्थाले प्राकृतिक तथा वैकल्पिक उपचारसम्बन्धी सेवा र परामर्श प्रदान गर्दै आएको बताइएको छ। तर कारोबारको बिल–बिजकसमेत उपलब्ध नगराएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा १ को खण्ड ‘ख’ बमोजिम तीन लाख रुपैयाँ जरिवाना गरिएको सुवेदीले बताए।

अनुगमन टोलीले संस्थाको राजस्व तथा बिल–बिजकसम्बन्धी विषयमा आवश्यक छानबिनका लागि विवरण आन्तरिक राजस्व कार्यालयमा पठाएको छ। संस्थाले पुनः सेवा सञ्चालन गर्न राजस्वसम्बन्धी विवरण स्पष्ट भएको प्रमाण, मकवानपुरमा उद्योग तथा व्यवसाय दर्ता अद्यावधिक गरेको कागजात र स्वास्थ्य सेवा सञ्चालन अनुमति पेस गर्नुपर्नेछ।

हेटौँडामा गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, हेटौँडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पशु सेवा कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र मकवानपुर उद्योग वाणिज्य सङ्घलगायत निकायका प्रतिनिधि सहभागी थिए।

मनहरीमा गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, मनहरी गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनस्वास्थ्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र मकवानपुर उद्योग वाणिज्य सङ्घलगायत निकायका प्रतिनिधिको सहभागिता थियो।

सुवेदीले खाद्यवस्तु तथा स्वास्थ्य सेवा प्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्यसँग जोडिएकाले सम्बन्धित सबै व्यवसायीलाई सरसफाइ, सुरक्षित भण्डारण, बिल–बिजक, दर्ता तथा कानुनी मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img