मकवानपुर । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण गएरातिदेखि देशका अधिकांश भू-भागमा झरी सुरु भएको छ। भोलि शुक्रबारदेखि आइतबारसम्म वर्षाको प्रभाव अझ तीव्र हुने पूर्वानुमान गरिए पनि कतिपय स्थानमा अघिल्लो रातिदेखि नै मुसलधारे वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रमा ठूलो पानी परेको छ। पछिल्लो २४ घण्टामा पाल्पामा १६० मिलिमिटर र कपिलवस्तुमा १२५ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। मौसम विज्ञानको मापदण्ड अनुसार २४ घण्टामा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई ‘धेरै भारी’ मानिन्छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा निकै ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै मधेश र कोशी प्रदेशका तराई भेगमा हावाहुरीसमेत चल्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य भू-भागमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आइतबारसम्म नै देशका धेरैजसो भागमा वर्षा जारी रहने भएकाले पहिरो र बाढीको जोखिम उच्च रहेको छ। बाढी-पहिरोका कारण सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भन्दै महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




