हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ।
प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ का अवसरमा सम्मान गर्न सातै प्रदेशबाट उत्कृष्ट सामुदायिक विद्यालय, प्रधानाध्यापक तथा स्थानीय तहहरूको छनोट गरेको हो।
पानको केन्द्रीय समितिले सार्वजनिक गरेको विवरणअनुसार बागमती प्रदेशबाट उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयतर्फ जनप्रिय मावि छनोट भएको हो। सोही प्रदेशबाट उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकतर्फ रामेछापको डहु माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर बल छनोट भएका छन्।
विद्यालय र प्रधानाध्यापकलाई छुट्टाछुट्टै विधामा छनोट गरिएको हो।
पानका अनुसार विद्यालयको शैक्षिक उपलब्धि, नेतृत्व, नवप्रवर्तन, कार्यसम्पादन, संस्थागत सुधार तथा शिक्षा क्षेत्रमा पुर्याएको योगदानका आधारमा उत्कृष्ट विद्यालय र प्रधानाध्यापक छनोट गरिएको हो।
पुरस्कार छनोटका लागि शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। समितिले प्राप्त आवेदन, मनोनयन, सिफारिस तथा सम्बन्धित प्रमाणहरूको अध्ययन र मूल्याङ्कन गरेको पानले जनाएको छ।
आगामी मंसिर ४ देखि ६ गतेसम्म जनकपुरधाममा आयोजना हुने तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलनका अवसरमा छनोट भएका विद्यालय, प्रधानाध्यापक तथा स्थानीय तहहरूलाई सम्मान गरिनेछ।
पानले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि, नेतृत्व विकास, नवप्रवर्तन र उत्कृष्ट शैक्षिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको जनाएको छ।


