हेटाैँडा । मुग्लिङ–काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि हेटौँडा–भीमफेदी–सिस्नेरी वैकल्पिक सडकमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। पूर्व र पश्चिम नेपालबाट काठमाडौँ आवतजावत गर्ने सवारीसाधन यही मार्गमा केन्द्रित हुँदा यात्रुले ठूलो सास्ती खेप्नुपरेको छ।
सामान्य अवस्थामा ३ देखि ४ घण्टामै पार गर्न सकिने काठमाडौँ–हेटौँडाको दूरी तय गर्न अहिले सवा ८ घण्टा लाग्न थालेको छ। शनिबार बिहान ११ बजे काठमाडौँबाट हेटौँडाका लागि छुटेका यात्रु कुमार पोखरेल साँझ ७ः१५ बजे मात्रै हेटौँडा आइपुगेका छन्।
पोखरेलका अनुसार विशेषगरी भैँसेदेखि भीमफेदीसम्मको सडक खण्डमा अत्यधिक जाम रहेको छ। साँघुरो सडकमा चालकहरूले लेन मिचेर गाडी चलाउने, जथाभावी ओभरटेक गर्ने र घुम्तीहरूमा ठूला सवारी अड्किनाले समस्या झन् जटिल बनेको छ।
मुग्लिङ–काठमाडौँ सडक बन्द भएसँगै त्रिभुवन राजपथ र भीमफेदी–सिस्नेरी सडकखण्डमा यातायात व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। दसैँका कारण घर फर्किने यात्रुको चाप बढेका बेला साँघुरा वैकल्पिक मार्गमा चालकहरूलाई लेन अनुशासन पालना गर्न र संयमित भएर सवारी चलाउन आग्रह गरिएको छ।


