धर्म/संस्कृतिबडादसैँ सुरु: आज घटस्थापना गरिँदै,११:४७ बजे उत्तम साइत

बडादसैँ सुरु: आज घटस्थापना गरिँदै,११:४७ बजे उत्तम साइत

मकवानपुर । नेपालीहरूको महान् चाड बडादसैँ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा घटस्थापना गरी विधिपूर्वक जमरा राखिएको छ।

​नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाका लागि आज बिहान ११ बजेर ४७ मिनेटको साइत निर्धारण गरिएको थियो। सूर्योदयकालमा प्रतिपदा तिथि परेका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आज पूजाआजा सुरु गरिएको हो।

​घटस्थापनासँगै नौ दिनसम्म दुर्गा देवीको आह्वान गरी नवदुर्गाको पूजा आराधना गर्ने परम्परा छ। दसैँघर वा पूजा कोठामा दियो, कलश र गणेश स्थापना गरी चोखो माटो वा बालुवामा जौँ छरिएर जमरा राखिन्छ। नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ भने विभिन्न नौ देवीका रूपहरूको आराधना गरिन्छ।

​यस वर्षको विजयादशमी आगामी कात्तिक ४ गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले त्यस दिन देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा र टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको जनाएको छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने चलन छ।

​असत्यमाथि सत्यको विजयको प्रतीक तथा पारिवारिक पुनर्मिलनको यस पर्वले रोजगारी र अध्ययनका लागि बाहिर रहेका मानिसलाई आफ्नो थातथलो फर्काउने गरेको छ। दसैँको बिदा सुरु भएसँगै सहरी क्षेत्रबाट गाउँघरतर्फ फर्किनेहरूको चहलपहल पनि बढेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार