खेल समाचाररोहितको शतकमा नेपालले क्यानडालाई हरायो, लिग–२ को छैटौँ स्थानमा उक्लियो

रोहितको शतकमा नेपालले क्यानडालाई हरायो, लिग–२ को छैटौँ स्थानमा उक्लियो

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले क्यानडामाथि २४ रनको जित निकालेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा पूर्वकप्तान रोहितकुमार पौडेलको शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा नेपाल विजयी भएको हो।

नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ दशमलव ४ ओभरमा २११ रनमै समेटियो। यो जितसँगै नेपाल लिग–२ को अंक तालिकामा एक स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएको छ।

क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। उनले ४९ बलमा ६ चौका प्रहार गरे। समित गोहेलले ३५ रन जोड्दा अखिल कुमार ३० रनमा अविजित रहे। यस्तै, श्रेयस मोभ्भा र कप्तान हम्जा तारिकले समान २६ रनको योगदान दिए।

नेपालका बलरहरूले सामूहिक रूपमा प्रभावशाली प्रदर्शन गरे। सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र नन्दन यादवले समान दुई–दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनाएको थियो।

नेपालका लागि रोहितकुमार पौडेलले शानदार शतकीय पारी खेले। उनले १२७ बलमा आठ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक हो।

सुरुवाती ब्याटिङ कमजोर बनेको अवस्थामा रोहितले नेपालको पारी सम्हालेका थिए। ओपनर आसिफ शेख चार रनमै आउट हुँदा तेस्रो नम्बरमा आएका इशान पाण्डेले खाता खोल्न सकेनन्।

अर्का ओपनर अर्जुन कुमालले ५४ बलमा २३ रन र बसिर अहमदले ५७ बलमा ३० रन बनाए।

अन्तिमतिर आक्रामक ब्याटिङ गरेका गुल्सन झा अर्धशतकबाट दुई रनले चुके। उनले ३४ बलमा चार चौका र तीन छक्कासहित ४८ रन बनाएर नेपालको स्कोर उकास्न महत्वपूर्ण योगदान दिए।

क्यानडाका लागि अखिल कुमारले सर्वाधिक चार विकेट लिए। सुखजिन्दर सिंहले तीन तथा जाहिद सिरजादले दुई विकेट हात पारे।

क्यानडाविरुद्धको जितपछि नेपालले ३३ खेलबाट २६ अंक जोडेको छ। नेपाल छैटौँ स्थानमा उक्लिँदा ३४ खेलबाट २५ अंक रहेको क्यानडा सातौँ स्थानमा झरेको छ।

लिग–२ को शीर्ष चारमा पुगेर सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने नेपालको सम्भावना समाप्त भइसकेको छ। यद्यपि, छैटौँ स्थानभित्र रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने लक्ष्यमा यो जित महत्वपूर्ण बनेको छ।

ओमानमा जारी त्रिकोणात्मक शृंखलामा नेपालले आयोजक ओमान र क्यानडासँग दुई–दुई खेल खेल्ने तालिका छ। नेपालले अब मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार