काठमाडाैँ । चीनमा आयोजना हुने आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ। भोलिदेखि कात्तिक ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १६ देखि १८ वर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टोलीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरु गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्चल थापा, कृष्णा गुरुङ, कृयाश सापकोटा, तेन्जिङ शेर्पा, आइज्याक शाही र आर्गेन तुलाधर रहेका छन्। टोलीको प्रशिक्षकमा थमन भुसाल र सन्तोष न्यौपाने छन् भने विद्यालय खेलकुद महासंघका पदाधिकारी तथा अफिसियलसमेत चीन जाँदैछन्।
यसैगरी, बंगलादेशको ढाकामा आयोजना हुने आईएचएफ नेसन्स महिला ट्रफी जोन २ मा सहभागी हुन नेपाली महिला ह्यान्डबल टोली भोलि त्यसतर्फ जाने भएको छ। कात्तिक १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा बन्दना राईको कप्तानीमा १४ सदस्यीय टोलीले नेपालको प्रतिनिधित्व गर्नेछ।
सुशील अधिकारी प्रशिक्षक रहेको नेपाली टोलीमा उमा राई, देवकुमारी बाँस्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगीता चौधरी, सञ्जु राई, शान्तिकला राई र ममता राना रहेका छन्। अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघको आयोजनामा हुने यस प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, माल्दिभ्स, यमन र अफगानिस्तानको सहभागिता रहनेछ।


