काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न हिमाली तथा पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार विशेष गरी गण्डकी प्रदेशका पहाडी थोरै स्थानहरूका साथै अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई ठाउँमा वर्षाको जोखिम बढी छ।
हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको आकलन गरिएको छ। आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक-दुई ठाउँमा हल्का वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
मौसममा आएको परिवर्तनसँगै पछिल्ला केही दिनदेखि तराईका विभिन्न भू-भागमा बिहानको समयमा सामान्य हुस्सु र कुहिरो लाग्न थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो मौसमी प्रणाली भोलि र पर्सिसम्म कायम रहनेछ। भोलि र पर्सि आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।


