काठमाडौं बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मौलिक धर्म, कला, संस्कार, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विजयादशमीअन्तर्गत नेवार समुदायको महत्वपूर्ण पर्व मोहनी नखःको अवसरमा लायन्स क्लब अफ नखेलको पहलमा नखेल सांस्कृतिक परिवारद्वारा आयोजित ‘नखेल सांस्कृतिक बाजा नाच २०८३’ कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री थापाले नेपालको मौलिक पहिचान जोगाउन सांस्कृतिक सम्पदाको संरक्षण अपरिहार्य रहेको बताएका हुन्।
उनले धर्म, कला, संस्कार, संस्कृति र परम्परा नेपाली समाजका अमूल्य निधि भएको उल्लेख गर्दै तिनको जीवन्तता कायम राख्नु आजको आवश्यकता रहेको बताए। सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने उनको भनाइ थियो।
‘धर्म, कला, संस्कार, संस्कृति र परम्पराको जीवन्तता नै आजको आवश्यकता हो। यिनै हाम्रा पहिचान र चिनारी हुन्। हाम्रा अमूल्य निधिहरूको उचित संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि बागमती प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ मुख्यमन्त्री थापाले भने।
उनले मौलिक संस्कृति र परम्पराको संरक्षण केवल विगतको इतिहास जोगाउने विषय मात्र नभई भावी पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने महत्वपूर्ण माध्यमसमेत भएको बताए। सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न समुदाय, सांस्कृतिक संघसंस्था र सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
मुख्यमन्त्री थापाले परम्परागत बाजागाजा, नाच तथा सांस्कृतिक गतिविधिले समुदायको मौलिक पहिचानलाई जीवन्त राख्नुका साथै सामाजिक सद्भाव, एकता र आपसी सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
उनले यस्ता सांस्कृतिक कार्यक्रमको निरन्तरताले स्थानीय कला र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै कार्यक्रम आयोजना गर्ने लायन्स क्लब अफ नखेल र नखेल सांस्कृतिक परिवारलाई धन्यवादसमेत दिए।


