धर्म/संस्कृतिपर्यटनको प्रचुर सम्भावना बोकेको हेटौँडा : दसैँ–तिहारको बिदामा कहाँ–कहाँ घुम्ने ?

पर्यटनको प्रचुर सम्भावना बोकेको हेटौँडा : दसैँ–तिहारको बिदामा कहाँ–कहाँ घुम्ने ?

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा औद्योगिक तथा प्रशासनिक केन्द्रका रूपमा मात्रै सीमित छैन। प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था र मनोरञ्जनका दृष्टिले पनि यो सहर उत्तिकै महत्वपूर्ण छ। तर, पर्याप्त प्रचारप्रसार र योजनाबद्ध पर्यटन विकासको अभावमा हेटौँडाले आफ्नो पर्यटकीय सम्भावनाअनुसार पहिचान बनाउन सकेको छैन।

दसैँ–तिहारको बिदामा घुमफिरको योजना बनाइरहेका आन्तरिक पर्यटकका लागि हेटौँडा र आसपासका क्षेत्र आकर्षक विकल्प बन्न सक्छन्। यहाँ ऐतिहासिक मकवानपुरगढीदेखि धार्मिक महत्व बोकेका भुटनदेवी र चुरियामाई मन्दिर, सहिद स्मारक, कुष्माण्ड सरोवर त्रिवेणीधाम तथा प्राकृतिक सौन्दर्यले भरिएका विभिन्न स्थान छन्।

काठमाडौं र वीरगञ्जलाई जोड्ने प्रमुख सडक सञ्जालसँग जोडिएको हेटौँडा भौगोलिक पहुँचका हिसाबले पनि महत्वपूर्ण स्थानमा छ। छोटो अवधिको पारिवारिक भ्रमण, धार्मिक यात्रा, ऐतिहासिक सम्पदाको अवलोकन तथा मनोरञ्जनका लागि यहाँ विभिन्न विकल्प उपलब्ध छन्।

मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटका अनुसार हेटौँडा प्राकृतिक र ऐतिहासिक दुवै दृष्टिले महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। महाभारतकालीन इतिहाससँग जोडिएको भुटनदेवी मन्दिरदेखि सेनवंशीय इतिहास बोकेको मकवानपुरगढी र ऐतिहासिक चुरियामाई सुरुङमार्गसम्मका सम्पदाले यस क्षेत्रको पर्यटकीय महत्व बढाएका छन्।

उनले दसैँ–तिहारजस्ता चाडपर्वको बिदालाई आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। पर्याप्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि त्यसको प्रचारप्रसार र व्यवस्थित विकासमा अपेक्षित ध्यान पुग्न नसकेको उनको भनाइ छ।

हेटौँडाको प्रमुख पर्यटकीय आकर्षणमध्ये हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक अग्रस्थानमा पर्छ। इतिहास, प्रकृति, अध्ययन र मनोरञ्जनलाई एउटै परिसरमा समेटेको यो स्थान हेटौँडा आउने पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ।

स्मारकका व्यवस्थापक रामचन्द्र न्यौपानेका अनुसार यहाँ शैक्षिक भ्रमणमा आउने विद्यार्थी, परिवारसहित घुम्न आउने आन्तरिक पर्यटक तथा इतिहासबारे अध्ययन गर्न चाहनेहरूको आकर्षण रहने गरेको छ।

स्मारक परिसरमा विभिन्न कालखण्डका सहिदहरूको योगदान र इतिहास झल्काउने सामग्री राखिएका छन्। सहिद अध्ययन तथा अनुसन्धान केन्द्रमार्फत सहिदका जीवनी, लेखरचना, तस्बिर तथा ऐतिहासिक विवरण अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ।

यहाँ निर्माण गरिएको ६५ फिट अग्लो सहिदस्तम्भ अर्को प्रमुख आकर्षण हो। कमलको फूलको आकृति झल्किने स्तम्भसँगै आकर्षक बगैँचा, पानीका फोहोरा तथा नेपालको भौगोलिक स्वरूप प्रस्तुत गर्ने संरचना निर्माण गरिएका छन्।

स्मारक परिसरमा प्रजातान्त्रिक आन्दोलनका अगुवा विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ र गणेशमान सिंहका पूर्णकदका प्रतिमासहित प्रजातान्त्रिक पार्कसमेत छ।

बालबालिकाका लागि चिप्लेटी, पिङ, ट्रेनलगायत मनोरञ्जनका साधन उपलब्ध छन्। वयस्क तथा साहसिक गतिविधिमा रुचि राख्ने पर्यटकका लागि रोटेपिङ, डुङ्गा, फ्लाइङ चेयर, जिपलाइन, स्काई साइकललगायतका गतिविधि पनि आकर्षणका रूपमा रहेका छन्।

स्मारक परिसरभित्रको चिडियाघर र जातीय सङ्ग्रहालयले यसको महत्व थप बढाएका छन्। सङ्ग्रहालयमा मकवानपुरमा बसोबास गर्ने दनुवार, चेपाङ, बनकरिया, राई, लिम्बू, नेवार, तामाङलगायत विभिन्न समुदायका पहिरन, परम्परा, सांस्कृतिक सामग्री तथा जीवनशैली झल्काउने वस्तुहरू सङ्कलन गरिएको छ।

धार्मिक पर्यटनका दृष्टिले पनि हेटौँडा महत्वपूर्ण सहर हो। हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर यहाँको प्रसिद्ध धार्मिक गन्तव्य हो। महाभारतकालीन इतिहाससँग जोडेर हेरिने यस मन्दिरमा दैनिक दर्शनार्थी पुग्ने गरेका छन्। विशेषगरी बडादसैँ र अन्य महत्वपूर्ण पर्वका अवसरमा भक्तजनको चहलपहल बढ्ने गर्छ।

मन्दिरका पुजारी बुद्धिमान राईका अनुसार भुटनदेवी मन्दिरप्रति स्थानीय तथा बाह्य दर्शनार्थीको गहिरो धार्मिक आस्था छ। मन्दिरभित्र अष्टभुजायुक्त देवीको मूर्ति रहेको छ। देवीसँगै सिंह र दैत्यवधको प्रतीकात्मक मूर्तिले असत्यमाथि सत्यको विजयको धार्मिक सन्देश प्रस्तुत गर्छ।

भुटनदेवी मन्दिरको स्थापना सेनवंशीय राजाहरूको पालामा भएको मानिन्छ। तत्कालीन शासकहरूले महत्वपूर्ण काममा निस्कनुअघि देवीको पूजाआजा गर्ने गरेको जनविश्वास रहिआएको छ।

हेटौँडाको अर्को प्रमुख धार्मिक गन्तव्य कुष्माण्ड सरोवर त्रिवेणीधाम हो। राप्ती, कर्रा र कुख्रेनी नदीको सङ्गमस्थलमा अवस्थित यस धामको धार्मिक तथा पौराणिक महत्व रहेको विश्वास गरिन्छ।

धार्मिक मान्यताअनुसार यस स्थानमा कुष्माण्डा भगवतीले तपस्या गरी भगवान् विष्णुबाट सिद्धि प्राप्त गरेकी थिइन्। विशेषगरी कात्तिक शुक्ल नवमीका दिन यहाँ दर्शनार्थीको ठूलो उपस्थिति रहने गरेको छ। यस दिन कुभिण्डो दान गर्दा पुण्य प्राप्त हुने जनविश्वास छ।

कुष्माण्ड सरोवर त्रिवेणीधाम व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेका अनुसार धाम परिसरमा १०८ गौमुखी धारा, शिवालय, यज्ञकुण्ड, नागस्थान, बुद्ध दर्शनस्थल, सङ्ग्रहालय, फूलबगैँचा तथा अन्य धार्मिक संरचना निर्माण गरिएका छन्।

हेटौँडाको दक्षिणी क्षेत्रमा रहेको चुरियामाई मन्दिर पनि धार्मिक र ऐतिहासिक पर्यटनको महत्वपूर्ण गन्तव्य हो। यातायातकी देवीका रूपमा पूजा गरिने चुरियामाई मन्दिरमा विशेषगरी नयाँ सवारीसाधन खरिद गरेपछि पूजाआजा गर्ने प्रचलन छ।

चुरियामाई मन्दिरसँगै रहेको ऐतिहासिक सुरुङमार्ग यस क्षेत्रको अर्को आकर्षण हो। दक्षिण एसियाकै प्रारम्भिक सडक सुरुङमार्गमध्ये एकका रूपमा चिनिने यो संरचना नेपालको यातायात पूर्वाधार विकासको इतिहाससँग जोडिएको छ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा सिभिल इन्जिनियर डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण गरिएको सुरुङमार्गले तत्कालीन इन्जिनियरिङ क्षमता र यातायात विकासको ऐतिहासिक अवस्थालाई झल्काउँछ।

हेटौँडामा भुवनेश्वर पशुपति मन्दिर, मनकामना, पाथीभरा, वनस्खण्डी, लक्ष्मीनारायण मन्दिर, दक्षिणकाली मन्दिर, गोरक्षेश्वर धाम र रुद्रेश्वर महादेव मन्दिरलगायत धार्मिक गन्तव्य पनि छन्। यी स्थानले धार्मिक पर्यटनको सम्भावनालाई थप विस्तार गरेका छन्।

हेटौँडा आसपासका क्षेत्र पनि प्राकृतिक तथा सांस्कृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण छन्। राक्सिराङ गाउँपालिकास्थित जलपरी झरना, सीता अशोक वाटिका, हर्नामाडीको मूर्ति सङ्ग्रहालय, जुरेथुमस्थित श्रीकृष्णको विशाल मूर्ति र पुष्पलाल पार्कलगायत स्थान भ्रमणका विकल्प हुन्।

ऐतिहासिक पर्यटनका दृष्टिले मकवानपुरगढीको छुट्टै महत्व छ। मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित यो गढी सेनवंशीय शासनकालको महत्वपूर्ण ऐतिहासिक सम्पदा हो।

हेटौँडाबाट करिब १६ किलोमिटर पूर्वमा रहेको मकवानपुरगढी समुद्री सतहदेखि करिब एक हजार १७ मिटर उचाइमा अवस्थित छ। नेपाल एकीकरणपूर्वको राजनीतिक इतिहास, तत्कालीन दरबारको वास्तुकला र सुरक्षात्मक संरचना अध्ययन गर्न चाहनेहरूका लागि यो महत्वपूर्ण गन्तव्य हो।

मकवानपुरगढीको ऐतिहासिक संरचनाले सेनवंशीय शासन व्यवस्थासँगै नेपाल एकीकरणका विभिन्न घटनाक्रमको स्मरण गराउँछ। यहाँबाट आसपासका पहाडी भूभाग तथा प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ।

धार्मिक र ऐतिहासिक पर्यटनसँगै हेटौँडामा औद्योगिक तथा कृषि पर्यटनको सम्भावना पनि छ। देशका प्रमुख औद्योगिक केन्द्रमध्ये एक रहेको हेटौँडामा उद्योग, उत्पादन प्रणाली तथा औद्योगिक विकासबारे अध्ययन अवलोकन गर्न सकिने सम्भावना छ।

हेटौँडा आसपासका पदमपोखरी, बकैया तथा अन्य ग्रामीण क्षेत्रमा कृषि उत्पादन, स्थानीय जीवनशैली र प्राकृतिक वातावरणलाई पर्यटनसँग जोड्न सकिने सम्भावना रहेको पर्यटन क्षेत्रका जानकारहरू बताउँछन्।

यद्यपि पर्यटकीय सम्भावनाको तुलनामा हेटौँडामा पर्यटन प्रवर्द्धन, गन्तव्यको पहिचान, पूर्वाधार विकास तथा पर्यटकमैत्री सेवाको विस्तार पर्याप्त हुन सकेको छैन। धार्मिक, ऐतिहासिक र प्राकृतिक गन्तव्यलाई एउटै पर्यटन सञ्जालमा जोड्ने गरी योजनाबद्ध कार्यक्रम आवश्यक देखिएको छ।

मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रानाभाटले हेटौँडाका पर्यटकीय गन्तव्यको उचित प्रचारप्रसार र प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन सकिने बताए।

भारतसँगको प्रमुख व्यापारिक नाका वीरगञ्ज नजिकै रहेको हेटौँडामा भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिने सम्भावना छ। धार्मिक पर्यटन, ऐतिहासिक सम्पदा र प्राकृतिक गन्तव्यलाई समेटेर पर्यटन प्रवर्द्धन गर्न सके स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ।

हिमालय राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापा मगरले हेटौँडालाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पर्यटनसँग सम्बन्धित सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए।

उनका अनुसार चाडपर्वको बिदामा घुम्न निस्कने पर्यटकलाई हेटौँडा पनि घुम्नैपर्ने गन्तव्य हो भन्ने सन्देश पुर्‍याउन जरुरी छ। गन्तव्यको पहिचान र प्रचारप्रसारसँगै पर्यटकलाई सहज रूपमा भ्रमण गर्ने वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ।

हेटौँडामा उपलब्ध प्राकृतिक, धार्मिक, ऐतिहासिक र मनोरञ्जनात्मक गन्तव्यलाई योजनाबद्ध रूपमा जोड्न सके यहाँको पर्यटनले नयाँ गति लिन सक्छ। त्यसका लागि स्थानीय तह, प्रदेश सरकार, पर्यटन व्यवसायी तथा निजी क्षेत्रबीच समन्वय आवश्यक छ।

दसैँ–तिहारको बिदा हेटौँडाको पर्यटन सम्भावनालाई चिनाउने उपयुक्त अवसर पनि हो। टाढाको गन्तव्य खोज्नुभन्दा नजिकैका ऐतिहासिक सम्पदा, धार्मिक स्थल र प्राकृतिक सौन्दर्यको अनुभव लिन चाहनेहरूका लागि हेटौँडा आकर्षक विकल्प बन्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार