समाजबंगालको खाडीमा चक्रवातको सम्भावना, नेपालमा कात्तिक ११ देखि १५ सम्म वर्षा हुने

बंगालको खाडीमा चक्रवातको सम्भावना, नेपालमा कात्तिक ११ देखि १५ सम्म वर्षा हुने

हेटौँडा । बंगालको खाडीमा विकसित न्यूनचापीय मौसम प्रणालीको प्रभाव नेपालमा समेत पर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा मौसम बदलीसँगै वर्षा हुन सक्ने जनाएको छ।

महाशाखाले शुक्रबार साँझ जारी गरेको विशेष मौसम सूचनाअनुसार पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै गएको छ। उक्त प्रणाली कात्तिक ९ गते सोमबार (अक्टोबर २६) सम्म चक्रवातीय आँधीमा परिणत हुन सक्ने अनुमान गरिएको छ।

चक्रवातीय प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिसा आसपासको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। सोही प्रणालीको अप्रत्यक्ष प्रभाव नेपालसम्म पुग्न सक्ने देखिएको हो।

मौसमविद्हरूका अनुसार कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालका विभिन्न भूभागमा बदली तथा वर्षाको सम्भावना छ। यद्यपि, कुन क्षेत्रमा कति वर्षा हुन्छ र त्यसबाट कस्तो जोखिम उत्पन्न हुन सक्छ भन्ने विषयमा अहिले नै निश्चित रूपमा पूर्वानुमान गर्न नसकिने महाशाखाले स्पष्ट पारेको छ।

विशेषगरी धानबाली भित्र्याउने समय भएकाले सम्भावित वर्षाले किसानलाई असर पार्न सक्ने देखिएको छ। त्यस्तै, मौसम प्रतिकूल हुँदा पर्यटन गतिविधि तथा यात्रामा समेत प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले मौसमसम्बन्धी विभिन्न पूर्वानुमान मोडल, भू–उपग्रहका तस्बिर तथा प्राप्त तथ्याङ्कको निरन्तर विश्लेषण भइरहेको जनाएको छ। प्रणालीको विकासक्रम र नेपालमा पर्न सक्ने प्रभावबारे थप स्पष्ट जानकारी प्राप्त भएपछि मौसमसम्बन्धी सूचना अद्यावधिक गरिनेछ।

महाशाखाले सम्भावित मौसम परिवर्तनलाई ध्यानमा राख्दै किसान, पर्यटक, यातायात व्यवसायी तथा सर्वसाधारणलाई आधिकारिक मौसम सूचनाको नियमित जानकारी लिन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार