काठमाडाैँ । आउँदो बुधबारसम्म नेपालको मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, बिहीबार भने देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा ठूलो वर्षा तथा हिमपात हुन सक्नेछ। सोही दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनीका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
वर्षा र हिमपातका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात क्षेत्रलाई प्रभावित पार्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन सचेत गराइएको छ।
मौसमविद्हरूले सम्भावित जोखिमलाई मध्यनजर गर्दै पाकेको धानबाली न काट्न, उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न र पहाडी राजमार्गहरूमा लामो दूरीको यात्रा गर्दा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यात्रा गर्दा बुधबारदेखि आइतबारसम्म थप सतर्कता अपनाउन आग्रह गरिएको छ।
नागरिकहरूलाई आधिकारिक मौसमी बुलेटिन तथा सूचना नियमित रूपमा पछ्याउन र पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।



