खेल समाचारभोलिदेखि शुरु हुने एनपीएलको तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा

भोलिदेखि शुरु हुने एनपीएलको तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिता भोलिदेखि सुरु भएर मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

​प्रतियोगिताको उद्घाटन खेलमा गएको संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। भोलि बेलुकी ५ बजे सुरु हुने उक्त खेलसँगै प्रतियोगिताको औपचारिक सुरुआत हुनेछ।

​यसपटकको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिने भएको छ। हक–आई प्रविधिमा आधारित यस प्रणालीअन्तर्गत हरेक इनिङ्समा एक टोलीले दुईवटासम्म समीक्षा गर्न पाउने व्यवस्था गरिएको छ। यसले खेलको निष्पक्षता र प्रतिस्पर्धात्मक स्तर बढाउने अपेक्षा गरिएको क्यानले जनाएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त यस प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडीहरूको समेत सहभागिता रहनेछ।

​प्रतियोगितालाई व्यवस्थित र दर्शकमैत्री बनाउन त्रिवि मैदानमा पूर्वाधारतर्फ व्यापक सुधार गरिएको छ। मैदानमा झण्डै दुई हजार थप दर्शक अट्ने सिट क्षमता, छानासहितको दर्शकदीर्घा, एलईडी स्कोरबोर्ड, डिजिटल बाउन्ड्री बोर्ड तथा सञ्चारकर्मीका लागि मिडिया सेन्टरजस्ता सुविधा थपिएका छन्।

​प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाज गरी आठ फ्रेन्चाइज टोली सहभागी हुनेछन्। जम्मा ३२ खेल हुने प्रतियोगिताको लिग चरणमा हरेक टोलीले अन्य सात टोलीसँग एक–एक खेल खेल्नेछन् भने त्यसपछि अंकतालिकाका शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार