मकवानपुर । दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आज राति महालक्ष्मीको पूजा आराधना गरी जाग्राम बसेर समापन गरिँदैछ। असोज शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाको अवसरमा बेलुकापछि सम्पन्नताकी देवी महालक्ष्मीको विधिपूर्वक पूजा गर्ने र रातभर जाग्राम बस्ने परम्परा छ।
यससँगै विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैबाट औपचारिक रूपमा समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईका अनुसार असोज २५ गते घटस्थापना गरी घरघरमा राखिएको जमरा आज नजिकका पवित्र स्थल, नदी, तलाउ तथा पोखरीमा लगेर सेलाइनेछ। माता दुर्गाका तीनवटा रूपमध्ये महालक्ष्मीको रूपको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिँदैछ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि समग्र दुर्गा पक्ष भने असोज शुक्ल पूर्णिमाका दिनमा पूर्ण हुने शास्त्रीय मान्यता छ। दीपावली (लक्ष्मीपूजा) भन्दा १५ दिन अघि महालक्ष्मीको आराधना गरिने हुनाले यस पर्वको विशेष धार्मिक महत्त्व रहेको छ।
कोजाग्रत पूर्णिमाको समापनसँगै भोलि सोमबारदेखि कात्तिक स्नान गरी तुलसीको विशेष पूजा आराधना सुरु हुने समितिले स्वीकृत गरेका पात्रोमा उल्लेख छ। यसैगरी, भोलि बेलुकादेखि नै आकाश दीपदान समेत आरम्भ हुनेछ।


