अन्तर्राष्ट्रियविश्व भोकमरी सूचकांक २०२६: नेपालको अवस्थामा थोरै सुधार

विश्व भोकमरी सूचकांक २०२६: नेपालको अवस्थामा थोरै सुधार

काठमाडाैँ । विश्व भोकमरी सूचकांक (जीएचआई) २०२६ को नयाँ प्रतिवेदन अनुसार नेपालमा भोकमरीको अवस्थामा थोरै सुधार आएको छ। शनिबार सार्वजनिक प्रतिवेदन अनुसार १२२ देशको सूचीमा नेपाल ७२ औँ स्थानमा परेको छ।

​नेपालले यस वर्ष १०० पूर्णांकमा १४.५ अंक प्राप्त गरेको छ। गत वर्ष सन् २०२५ मा नेपालको अंक १४.८ थियो। भोकमरी सूचकांकमा अंक घट्नुलाई सुधारको संकेत मानिन्छ। १४.५ अंकले नेपालमा भोकमरीको स्थिति अझै पनि ‘मध्यम’ श्रेणीमा रहेको देखाउँछ। सन् २००० मा ३७.१ अंकसहित नेपाल ‘गम्भीर भोकमरी’ को अवस्थामा थियो।

​दक्षिण एसियाली देशहरूमध्ये नेपालको स्थिति तुलनात्मक रूपमा राम्रो देखिएको छ। दक्षिण एसियामा १०.२ अंकसहित श्रीलंका ५३ औँ स्थानमा रहँदा बंगलादेश १९.२ अंकका साथ ८४ औँ, भारत २४.१ अंकका साथ १०० औँ र पाकिस्तान २५.५ अंकका साथ १०६ औँ स्थानमा रहेका छन्। दक्षिण एसियाको औसत भोकमरी सूचकांक २३.५ रहेको छ, जुन विश्वव्यापी औसत (१८.१) भन्दा बढी हो।

​विशेष गरी बालबालिकामा देखिने पुड्कोपन घटाउन नेपालले उल्लेखनीय प्रगति गरेको प्रतिवेदनले देखाएको छ। सन् २००० मा ५५.९ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या रहेकामा सन् २०२६ मा आइपुग्दा यो घटेर २६.२ प्रतिशतमा झरेको छ।

​तथापि, कुपोषण अझै पनि नेपालका लागि ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको प्रतिवेदनमा औँल्याइएको छ। जलवायु परिवर्तनको असर, जैविक विविधताको ह्रास र आप्रवासनका कारण सीमान्तकृत समुदायको पोषण र खाद्य सुरक्षामा पहुँच अझै पूर्ण रूपमा पुग्न नसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार