काठमाडाैँ । यसपालिको तिहारमा काठमाडौं उपत्यकामा झन्डै ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले आज पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको तिहारमा ५२ लाख माला खपत हुने र त्यसबाट झन्डै ४८ करोड रुपैयाँको कारोबार हुने जानकारी दिएको हो।
खपत हुने कुल मालामध्ये सयपत्रीका ४५ लाख, मखमलीका ६ लाख, गोदावरीका २० हजार र अन्य विभिन्न थरीका फूलका ६० हजार माला रहने एसोसिएसनले जनाएको छ। एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार कुल मागको झन्डै ७७ प्रतिशत अर्थात् ४० लाख माला स्वदेशी उत्पादनबाटै पूर्ति हुने अपेक्षा गरिएको छ।
यसैबीच, फ्लोरिकल्चर एसोसिएसनले आगामी कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रदर्शनीमा सेल्फी कक्षसहित ७८ वटा व्यावसायिक स्टल रहने र ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजकले जनाएको छ। उक्त मेला झन्डै ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ।


