काठमाडाैँ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका सबै भूभागमा मौसम बदली भई वर्षा र हिमपात सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा आकाश मेघले ढाकेको छ भने कतैकतै वर्षा तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ।
आज रातीदेखि आगामी दुई दिनसम्म थप वर्षा तथा हिमपात हुन सक्ने विभागकी वरिष्ठ मौसमविद् एवं प्रवक्ता विभूति पोखरेलले जानकारी दिएकी छन्। उनका अनुसार केही क्षेत्रमा मुसलधारे वर्षा र धेरै स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा बढी सतर्कता अपनाउनुपर्ने मौसमविद्ले बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत विज्ञप्ति जारी गर्दै आगामी तीन दिनसम्म हावाहुरी, चट्याङ र हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ। भारतमा जनधनको क्षति पुर्याइसकेको यो समुद्री आँधी नेपाल भित्रिँदा केही कमजोर भए पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा व्यापक हिमपातको जोखिम कायमै छ।
संभावित जोखिमलाई मध्यनजर गर्दै पर्यटन विभागलगायतका निकायले हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्राका कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन्। त्यस्तै, वर्षाका कारण बालीमा क्षति पुग्न सक्ने भएकाले आगामी तीन दिनसम्म धान नकाट्न विज्ञहरूले सुझाव दिएका छन्।
हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन र वैकल्पिक उडान योजनालाई पूर्ण तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्भावित जोखिमबाट बच्न सुरक्षा निकायमार्फत ठाउँठाउँमा माइकिङ गरी सचेतना फैलाइएको छ। सरकारले सर्वसाधारणलाई अफवाहको पछि नलाग्न र आधिकारिक निकायका सूचना पालना गर्न अनुरोध गरेको छ। यो मौसमी प्रणाली आगामी शनिबार बेलुकादेखि बाहिरिने अनुमान गरिएको छ।


