राशिफलतपाईको माघ महिना कस्तो रहनेछ ? निकै राम्रो छ यी राशिको, हेर्नुहोस्...

तपाईको माघ महिना कस्तो रहनेछ ? निकै राम्रो छ यी राशिको, हेर्नुहोस् मासिक राशिफल

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको माघ महिना कस्तो रहनेछ ? निकै राम्रो छ यी राशिको, हेर्नुहोस् मासिक राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यो महिनामा विशेष स्रोत–साधन जुट्नेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ प्रशस्तै फाइदा हुनेछ। व्यवसाय र सेयरतर्फ थप लगानी बढाउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। अध्ययनतर्फ लगनशीलताले उचाइमा पुर्याउनेछ। प्रयत्न गर्दा देशविदेशको यात्रा हुन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
योजना ठूलो बन्नेछ। तर काममा चुनौती देखापर्नेछन्। स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्छ। अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम प्रारम्भ हुनेछ। चुनौती देखिए पनि मेहनतले अवसर प्रदान गर्नेछ र जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। व्यापारमा सामान्य फाइदा हुनेछ। उद्योगतर्फ मर्मतसम्भारमा खर्च बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउला। सेयरतर्फ साेचेकाे फाइदा नहुन सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। तर, विवादास्पद कामले आलाेचित भइनेछ। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
यस महिनामा स्वास्थ्य समस्याले सताउन सक्छ। कामको बोझ भने बढ्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। फसेकाे रकम नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। दुर्भावना राख्नेहरूले पनि बिनाकारण दुःख दिनेछन्। कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउन सक्छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। आँटेका काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुहोला। शुभचिन्तकहरूको सहयोगले मात्र अप्ठ्यारो परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। नयाँ काम गर्न बाधा भए पनि नियमित काम सम्पादन हुनेछन्। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
याे महिना केही उतारचढावमय रहनेछ। पतिपत्नीबीच मतभेद बढ्नेछ भने अस्थिर मनोवृत्तिले अरूको विश्वास गुम्न सक्छ। घरखर्च बढ्नेछ र आयआर्जनमा केही कमी आउने सम्भावना छ। अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ। घरेलु कामकाजमा समय बित्नेछ भने उद्देश्यमूलक काम यो महिनाको प्राथमिकतामा नपर्न सक्छ। प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई भने पछि पार्न सकिनेछ। दिगो योजनामा अघि बढ्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउने चेष्टा गर्नुहोला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। सेयर तथा व्यापारबाट आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम बन्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रोकिएका काम पुनः प्रारम्भ गर्ने समय छ। मिहिनेतले प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। भौतिक साधनहरू प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। प्रयत्न गर्दा विभिन्न अवसर पनि प्राप्त हुनेछन्। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा प्रगति हुनेछ। आर्थिक क्षेत्रमा पनि सामान्य उपलब्धिलाई गुणात्मक बनाउन सकिनेछ। दाेस्राे सातापछि सेयर काराेबारमा फाइदा हुनेछ। पहिले अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अस्वस्थता र पारिवारिक असमझदारीले काममा बाधा पुर्याउनेछ। विवाद तथा द्वन्द्व औपचारिक सम्झौताले मात्र नटुंगिन सक्छ। अध्ययनमा पनि त्यति समय दिन नसकिएला। बलजफ्ती गर्दा आफन्त टाढिन सक्छन्। तर आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। रोकिएका काम पुनः प्रारम्भ गर्ने समय छ। आर्थिक क्षेत्रमा सामान्य उपलब्धि हासिल गर्न सकिनेछ। केही दौडधुप गर्नुपरे पनि सम्भावनाका बाटाहरू फेला पर्नेछन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। सरकारी काममा वैधानिक व्यवस्था विचार गरेर मात्र प्रयत्न गर्नुहोला। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर र चुनौतीको संक्रमणले व्यवहार केही अस्थिरतातर्फ मोडिन सक्छ। साझेदारीमा विवाद र पारिवारिक मतभेद देखापर्ने हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ। लेनदेनको व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरू बिनाकारण टाढिन सक्छन्। भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा वादविवाद आउन सक्छ। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। कृषितर्फ पछि फाइदा हुने काम थालनी गर्न सकिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि विभिन्न अवसर जुट्नाले यो महिना निकै लाभदायक रहनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। नोकरीमा पदोन्नति वा विशेष लाभ मिल्नेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने समय छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। वरिष्ठ व्यक्तिहरूको सहयोगले प्रतिष्ठित काम गर्ने माैका जुट्नेछ। मिहिनेत गर्दा जीवनशैलीमा राम्रै परिवर्तन आउनेछ। पति–पत्नीबीच असमझदारी बढ्ने सम्भावना छ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा पनि केही विवाद निस्कन सक्छ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यस महिनामा वादविवादले समस्या निम्त्याउने हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ। साझेदारीमा पनि लेनदेनको व्यवहारले असमझदारी बढाउन सक्छ। बलभन्दा बुद्धिको उपयोगले पुरुषार्थी काम गर्न सकिनेछ। सेयर काराेबार, व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। विद्यार्थीहरूको अभिव्यक्ति कलामा निखारता आउनुका साथै अध्ययनमा प्रगति हुनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नेछ। प्रतिभाले मान–सम्मान समेत दिलाउनेछ। व्यवहारमा खर्चकाे मात्रा बढ्न सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। स्वास्थ्यमा शिर तथा पेटको समस्याले सताउन सक्छ। माैसमी समस्याबाट पनि बच्ने उपाय अवलम्बन गर्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यो महिनामा केही चुनौतीसँग जुध्नुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। सामान्य कामका लागि खर्च धेरै हुनेछ। अनावश्यक दौडधुपमा समय बित्नेछ। सहयोगको नाउँमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। वादविवाद र मुद्दा–मामिलाबाट टाढै रहनुहाेला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। परिस्थितिले उब्जाएको समस्या नियन्त्रणमा आउनेछ। बुद्धिको उपयोगले उल्झनहरू हटाउन सफल भइनेछ। प्रतिष्ठाको संघर्षमा विजय प्राप्त हुनेछ। आलोचक र प्रतिद्वन्द्वीहरू नै कर्मयोगका प्रेरक बन्नेछन्। देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। तेस्राे सातातिर खर्च बढ्नाले अर्थअभाव देखापर्न सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अर्थ अभावका बीच दीर्घकालीन महत्त्वका काम प्रारम्भ गर्नुपर्ने समय छ। कर्जाको बोझ उठाउनुपर्ने हुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउनेछन्। काम बनाउन अलि दौडधुप गर्नुपर्ला। सुरुमा आशा देखाउनेहरूले अन्त्यमा बोली फेर्न सक्छन्। समय र नियमलाई पालना नगर्दा व्यवहारमा समस्या उत्पन्न हुनेछ। व्यावहारिक चुनौतीका साथसाथै यो महिनामा विभिन्न अवसर पनि प्राप्त हुनेछन्। केही खर्च लागे पनि प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। व्यापार र सेयरमा तत्काल फाइदा नभए पनि पछिका लागि लगानी गर्ने मौका छ। नोकरीमा स्थानान्तरणको बलियो सम्भावना देखिन्छ। आफन्तबाट टाढिनुपर्ने स्थिति भने आउन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आम्दानी बढ्नुका साथै यो महिनामा खुसीको समाचार सुन्न पाइनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ। व्यापार र सेयरतर्फ उल्लेख्य फाइदा हुनाले आयआर्जनका स्रोत थपिनेछन्। राजनीतिक पहुँच बढ्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने तारिफयोग्य काम सम्पादन हुनाले सामाजिक रूपमा ख्याति बढ्नेछ। मानसम्मानका साथ प्रशस्त आम्दानी हुनेछ। कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। विद्यार्थीहरूमा अध्ययनले नयाँ गति लिनेछ भने प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर पनि प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img