काठमाडौं | नेपालले आइतबारदेखि बंगलादेशलाई व्यवसायिक रूपमा ४० मेगावाट विद्युत निर्यात सुरु गरेको छ। वर्षायाममा आन्तरिक मागभन्दा बढी उत्पादन हुने विद्युत् अब तेस्रो देश बंगलादेशमा पठाउन थालिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बंगलादेश निर्यात सुरु हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनका अनुसार नेपाल तेस्रो मुलुकमा विद्युत् बेच्न थालेको दक्षिण एसियाको पहिलो राष्ट्र बनेको छ।
विद्युत् निर्यातका लागि नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ गते त्रिपक्षीय सम्झौता भएको थियो। काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्का, भारतका विद्युत मन्त्री मनोहर लाल र बंगलादेशका सल्लाहकार मोहमद फोजुल कविर खानले संयुक्त रूपमा स्विच अन गरी निर्यातको सुरुवात गरे।
सम्झौता अनुसार हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म (५ महिना) ४० मेगावाट विद्युत् बंगलादेशलाई बेचिनेछ। पहिलो दिन ४ लाख ७० हजार युनिट विद्युत् बेचिएर ३० हजार ८० अमेरिकी डलर आम्दानी भएको छ।
नेपालबाट निर्यात हुने बिजुली भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बेहरामपुर–भेडामारा लाइनमार्फत बंगलादेश पुग्नेछ। त्रिशूली र चिलिमे जलविद्युत आयोजनाबाट क्रमशः १८.६० र २१.४० मेगावाट विद्युत् उत्पादन गरिएको हो।
विद्युत् विक्री सम्झौता पाँच वर्षका लागि भएको छ, जुन सन् २०२९ अक्टोबर २ सम्म कायम रहनेछ। प्रति युनिट ६.४० अमेरिकी सेन्टमा बिजुली विक्री हुनेछ भने भारतको प्रसारण शुल्क, चुहावट, कर, ट्रेडिङ मार्जिन लगायत सबै शुल्क बंगलादेशले बेहोर्नेछ। बक्यौता पनि बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (BPDB) ले तिर्नेछ।