काठमाडौं |
हिन्दु धर्ममा महाशिवरात्री पर्वको विशेष महत्व रहेको छ । हरेक वर्ष नेपालमा महाशिवरात्रि पर्व फाल्गुन कृष्णपक्षको चतुर्दशीमा धुमधामले मनाइन्छ। धार्मिक-आध्यात्मिक जागरणको साथसाथै यसै दिन टुँडिखेलमा बढाइँका साथ सेना दिवसको रूपमा पनि मनाइने गरिएकोले शिवरात्रि पर्वले राष्ट्रिय पर्वको रूप ग्रहण गर्न पुगेको छ ।आराध्यदेव भगवान् श्रीपशुपतिनाथप्रतिको यो एक किसिमले आराधना र सम्मान पनि हो भन्दा अत्युक्ति हुँदैन। महाशिवरात्रि पर्व भगवान् शिवको आराधनाको प्रमुख दिन हो ।
शिवतत्त्वको चर्चा गर्दै जाँदा शास्त्रहरूमा जसमा सारा जगत् शयन गर्दछ, जो विकाररहित छ उही शिव हो अथवा जो अमङ्गलको ह्रास गर्दछ उनै सुखमय, मङ्गलमय भगवान् शिव हुन्; जो सारा जगत्लाई आफूमा लीन गर्दछ उनै करुणासागर भगवान् शिव हुनुहुन्छ; जो भगवान् नित्य, सत्य, जगदाधार, विकाररहित, साक्षीस्वरूप छ उनै शिव हो भनेर यत्रतत्र सर्वत्र चर्चा-परिचर्चा गरिएको पाइन्छ। भगवान् शिवको गुणगान गाइएका अनेक मन्त्र र स्तुतिहरू वेद, उपनिषद्, रामायण, महाभारत, पुराणलगायत परवर्ति साहित्यहरूमा समेत अत्यधिक मात्रामा पाइन्छ । भगवान् शिवको स्तुतिगानको लागि प्रशिध्द शिवमहिम्नस्तोत्रमा विद्वान् पुष्पदन्तले यसरी श्रध्दा-भक्ति दर्शाएका छन् :
त्रयी साङ्ख्य योग: पशुपतिमतं वैष्णवमिति।
प्रभिन्ने प्रस्थाने परमिदमद: पथ्यमिति च।।
रुचिनां वैचित्र्यादृजुकुटिलनानापथजुषां।
नृणामेको गम्यस्स्तमसि पयसामर्णव इव।।
सबैभन्दा ठुलो प्रश्न के हो भने महाशिवरात्री किन मनाइन्छ ? आज हामी महाशिवरात्री किन मनाइन्छ ?
पौराणिक र धार्मिक मान्यताहरुका अनुसार तीन कारणहरुले महाशिवरात्री पर्व मनाइन्छ । जसमा शिव–पार्वतीको विवाह सबैभन्दा धेरै प्रचलित रहेको छ । जसका कारणले महाशिवरात्रिमा विभिन्न स्थानहरुमा रातीको समयमा शिवको जन्ति पनि निकाल्ने परम्परा रहेको छ । महाशिवरात्री यी तीन कारणहरुले मनाइन्छ ।
शिव–पार्वतीको विवाह
माता पार्वती र भगवान शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो । यो तिथिमा भगवान शिव र माता पार्वतीको महामिलनको रुपमा पनि मनाइन्छ । महाशिवरात्रीको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्व धेरै रहेको छ । भनिन्छ, यो दिन भगवान शिवको पूजा आरधना गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुन्छन् । महाशिवरात्रीको ब्रत बस्नाले यदि कसैको विवाहमा बाधा–अड्चन आएको छ भने समस्त बाधा अड्चनहरु कम हुन्छ र छिट्टै विवाह हुन्छ भन्ने एउटा मान्यता रहेको छ ।
२.महादेवको शिवलिङ्ग स्वरुप
पौराणिक मान्यता अनुसार महाशिवरात्रीको दिन नै भगवान शिवले आफ्नो शिव लिङ्ग सवरुपमा प्रकट भएका थिए । त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरुपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए । यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आरधना गर्ने विधान रहेको छ ।
३.विषपान गरेर संसारलाई संकटबाट बचाएको
भनिन्छ, समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले यो सृष्टिलाई संकटबाट बचाएका थिए । यही कारणले नै महाशिवरात्री मनाइन्छ । सागर मंथनबाट निस्केको विषलाई पिएर भगवान शिवको गला निलो भएको थियो । जसका कारण भगवान शिवलाई निलकन्ठ पनि भनिन्छ ।
शिवरात्री र महाशिवरात्रीमा के अन्तर छ ?
हिन्दु क्यालेन्डरको प्रत्येक मासको कृष्ण पक्षको चतुर्दशी तिथिलाई शिवरात्रीको रुपमा लिइन्छ । यो मासिक शिवरात्रीको नामले पनि प्रचलित छ । फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवराीको नामले चिनिन्छ । पौराणिक मान्यताहरुका अनुसार यो दिन नै आधि रातमा भगवान शिव निराकार ब्रह्माबाट साकार स्वरुप अर्थात रुद्र रुपमा अवतरित भएका थिए । त्यसैले यो तिथिलाई महाशिवरात्री भनिन्छ । यो दिन विशेष रुपले भगवान शिवको पुजा–अर्चना गरिन्छ ।
महासमुद्ररूपी शिवजी नै एक अखण्ड पर-तत्त्व हुनुहुन्छ, उहाँ सर्वव्यापक र सर्वशक्तिमान् हुनुहुन्छ, उहाँ व्यक्त-अव्यक्त रूपले क्रमश: सगुण ईश्वर र निर्गुण ब्रह्म कहिनुहुन्छ तथा उहाँ परमात्मा, जगदात्मा, शम्भव, मयोभव, शङ्कर, मयस्कर, शिव, रुद्र, पशुपति आदि अनेकौँ नामले सम्बोधित हुनुहुन्छ ।
भगवान शिव वर्णनातीत भएर पनि अनुभवगम्य हुनुहुन्छ । उनै आशुतोष भक्तहरूलाई आफ्नो आश्रयमा लिनु हुन्छ, उनै त्रिविध तापलाई शमन गर्नेवाला हुनुहुन्छ, उनैबाट समस्त विद्या एवं कला निक्लेको छ, उनै वेद तथा प्रणव अर्थात् ओमकारको उद्गम हुनुहुन्छ, यसैलाई वेदले ‘नेति नेति’ भनेको छ । उनै नित्याश्रय एवं अनन्ताश्रय हुनुहुन्छ तथा उहाँ नै दयासागर एवं करुणावतार हुनुहुन्छ । शास्त्रहरूसमेत उहाँको महिमाको सम्पूर्ण वर्णन गर्न असमर्थ छन् त्यस्ता भगवान् शिव वा पशुपतिनाथको मन्दिर युगौँयुगदेखि नेपालमा रहनु नेपालीहरूकै सौभाग्य हो।