गुल्मी- गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा धार्मिक पर्यटकीय गनतव्य निर्माण गर्न बिभिन्न संरचना निर्माण भएका छन् । संरचना निर्माण भएसँगै अन्तरिक तथा बाह्य पर्यटक अबलोकनका लागि पुग्ने गरेका छन् ।
कैयौं संरचना निर्माण हुँदाहुँदै पनि धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गा पर्यटकीय स्थल ओझेलमा छ । तर पनि पर्यटकीय संरचना धमाधम निर्माण हुने गरेका छन् ।
केहि संरचना राज्यको लगानीमा निर्माण भएका छन् भने केहि निजी व्यक्तिले पनि निर्माण गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ भँगारी भुवने डाँडामा पिकनिक स्पोर्टसँगै आकर्षक मन्दिर निर्माण गरिएको छ ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको रेसुङ्गाको काखमा गुल्मीदरवार निवासी सुब्बा बस्नेतले आकर्षक मन्दिर निर्माण गरेका हुन् । मन्दिर निर्माण भएसँगै त्यस क्षेत्रमा पुग्ने अन्तरिक तथा बाह्य पर्यटक अवलोकन कर्ता पुग्ने गरेका छन् ।
अहिले भँगारी भुवने डाँडा (दारेढुङ्गा) पर्यटकीय स्थलमा पुग्नेहरुको संख्या पनि बृद्धि भएको छ । पर्यटकीय पार्कसँगै निर्माण गरिएको मन्दिरले मनै लोभ्याउने दृश्य बनेको अवलोकनका लागि पुगेका लक्ष्मी थापाले बताउनु भयो ।
उहाँले यहाँ धार्मिक महत्वसँगै पर्यटकीय हिसावले पनि राम्रो लागेको बताउनुभयो । पर्यटकीय स्थलसँगै मन्दिर पनि बनेको छ भन्ने सुनेर पहिलो पटक आएको दुर्गाबहादुरको भनाइ छ ।
ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व वेदपुराणहरुमा समेत उल्लेख छ । त्रेतायुगमा ऋषि श्रृंङ्गेश्वरको तपस्या स्थल रेसुङ्गामा भगवान श्रीराम भेटन जाने क्रममा त्यहि बाटो भएर जानेक्रममा उहाँका पाइलाहरु पछिसम्म रहेको पाइएको त्यहाँका स्थानीय बताउछन् ।
ती पाइलाहरुमा एकदशीमा पूजा समेत गरिने गरिन्थ्यो । पछि बाटो बिस्तारको क्रममा पाइलाहरु फुटाइएको थियो । अहिले सोहि स्थानमा एउटा व्यक्तिले निजी लगानीमा लाखौ रकम खर्चेर श्रीराम भगवानको मन्दिर निर्माण गरेका हुन् ।
मन्दिर निर्माणसँगै रेसुङ्गा क्षेत्रमा तपस्या गरेका ऋषि महर्षिहरुका कलात्मक दृश्यहरु पनि निर्माण गरेर चिटिक्क पारिएको छ ।