Friday, February 7, 2025
धर्म/संस्कृतिआज सरस्वतीपूजा अर्थात वसन्त पञ्चमी, यस्तो छ महिमा र महत्व

आज सरस्वतीपूजा अर्थात वसन्त पञ्चमी, यस्तो छ महिमा र महत्व

सरस्वती पूजा अर्थात वसन्त पञ्चमी । वसन्त अर्थात ऋतुहरुको राजा । वसन्तको सुरुवात हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी भनिएको हो । आजको दिन हामी सबैको लागि विशेष दिन हो । किनभने आज हामी वाग्देवी अर्थात बोलिकी देवी सरस्वतीको पूजा उपासना गर्छौँ । उल्लासमय अवसरको रुपमा मनाउँछौँ । त्यसको अर्थ के होला रु सरस्वती स्वरुपले

“या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।

या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।

या ब्रह्माच्युत शङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता ।

सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।१।।”

अर्थात्:-

“जो विद्याकी देवी भगवती सरस्वती कुन्दको फूल, चन्द्रमा, हिमराशि र मोतीको हार जस्तै श्वेत वर्णकी हुनुहुन्छ र जो सेतो वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा सुन्दर वीणा–दण्ड शोभायमान छ, जो श्वेत कमलमा आसन ग्रहण गर्नुभएको छ तथा ब्रह्मा, विष्णु र शङ्कर आदि देवताहरूद्वारा जो सदैव पूजित हुनुहुन्छ, उनै सम्पूर्ण जडता तथा अज्ञानबाट मुक्त गर्ने भगवती सरस्वती हाम्रो रक्षा गर्नुहोला ।”

आज माघ १२ गते बिहिबार श्रीपञ्चमी परेको छ । नेपाली समय अनुसार बिहान ७ बजेर २७ मिनेटदेखि दिउँसो १२ बजेर ४५ मिनेटसम्म पूजाको शुभ मुहूर्त छ । यससँगै यस वर्ष चारवटा शुभ योग अर्थात् शिवयोग, सिद्धियोग, सर्वसिद्धियोग र रवियोगमा पूजा र आराधना गर्नु वाञ्छिनीय छ ।

के अर्थ राख्छ ?

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ ।

उनको प्रतिकात्मक चित्र, वहान, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ बोक्छन् ।उनले हातमा लिएको विणाबाट के पनि बुझिन्छ भने, जीवन धुन हो । यो मधुर हुनुपर्छ । लयवद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय बनाउँछ । पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ । सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वहान हुन् । मयुरालाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । विद्यानै मानिसको सौन्दर्य पनि हो ।

पुस्तकमा उल्लेख भए अनुसार देवी सरस्वतीलाई प्रसन्नचित्त गर्नको लागि वन्दना गरिन्छ ः–

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।१।।

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।।२।।

पञ्चम् तु जगन्माता षष्ठं वागीश्वरी तथा ।
सप्तम् चैव कौमारी अष्टम् वरदायिनी ।।३।।

नवम् बुद्धिदात्री च दशम् ब्रह्मचारिणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।४।।

द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः ।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।।५।।

किन मनाउने ?

हामीकहाँ बर्षभर मूख्य तीन देवीको पूजा मनाइन्छ । लक्ष्मी, दुर्गा र सरस्वती । लक्ष्मी धनकी देवी । दुर्गा शक्तिकी । सरस्वती विद्याकी । वास्तवमा यी प्रतिकात्मक देवी हुन् । अर्थात जीवनमा पूर्णता हासिल गर्नका लागि हामीसँग तीन चिजको खास महत्व हुन्छ, धन, विद्या र शक्ति । आज विद्याकी देवीको पूजा गरिने दिन । विद्यारज्ञानरशिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँछ । संगीत, कला, साहित्य एवं विद्याकी देवी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरिन्छ । आजको दिन साना बालबालिकालाई अक्षराम्भ गराइन्छ । त्यसैगरी आजको दिनलाई बौद्ध धर्ममा पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीको रुपमा ज्ञानको प्रतिक मानेर पूजाआजा गर्ने गरिन्छ ।

कसरी पूजा गर्ने ?

यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाइ पूजा गरिन्छ ।

देवी सरस्वतीको उत्पत्ति

हिन्दू धर्मग्रन्थहरूमा देवी सरस्वतीको उत्पत्तिबारे प्रसङ्ग यस्तो छ– सृष्टिको प्रारम्भिककालमा भगवान् विष्णुको आज्ञा अनुसार ब्रह्माजीले जीवहरूको सृष्टि गर्नुभयो । मनुष्य योनीको रचना गरिसकेपछि भगवान् ब्रह्मा खुशी हुनुभएन । किनभने उहाँलाई केही कमी महसूस भयो । पुनः भगवान् विष्णुको अनुमति लिएर ब्रह्माजीले आफ्नो कमण्डलबाट जल लिएर पृथ्वीमा छर्कनुभयो । लगत्तै पृथ्वीमा कम्पन हुन थाल्यो । यसपछि एक अद्भुत नारी शक्तिको उत्पत्ति भयो । प्रकाट्य एक चतुर्भुज सुन्दर स्त्रीको प्रत्येक हातमा क्रमशः वीणा, वरमुद्रा, पुस्तक तथा माला थियो । ब्रह्माजीले देवीसँग वीणावादन गर्ने अनुरोध गर्नुभयो । जब देवीले वीणाको मधुरनाद गर्नुभयो, तब संसारका समस्त जीवजन्तुहरूलाई वाणी प्राप्त भयो ।

ब्रह्माजीले ती स्त्रीलाई वाणीकी देवी सरस्वती नामकरण गर्नुभयो । देवी सरस्वतीलाई बागेश्वरी, भगवती, शारदा, वीणावादनी, वाग्देवी, सरस्वती, शारदा, जगत्माता, कौमार, वरदायिनी, कामधेनु आदि अनेकौं नामले पूजा गरिन्छ ।

ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपाबाट मानवले मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ । संस्कार, सभ्यता र संस्कृतिकी स्रोत सरस्वतीपूजाको दिन नाक र कान छेड्नेदेखि विद्याको प्रारम्भ तथा शुभ कार्यहरू आरम्भ गर्दा साइत जुराउनुपर्दैन ।

धातु वा माटोको प्रतिमा वा माता सरस्वतीको चित्र अङ्कित तस्बिरहरू सजाएर पूजापाठ गरिन्छ । पूजामा देवीलाई मन पर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्य, फलफूल, मिठाइ, कपुर, वस्त्र, भेटी, चन्दन, बेल, नरिवल आदि अर्पण गरिन्छ । तराई क्षेत्रमा देवी सरस्वतीको माटोको प्रतिमा बनाइ पूजा गर्ने चलन छ । प्रतिमामा प्राणप्रतिष्ठा गरी धूमधामसँग पूजा गरी भोलिपल्ट जलाशयमा विसर्जन गर्ने चलन छ । सरस्वतीमाताको पूजनले व्यक्तिलाई हरेक क्षेत्रमा सफलता प्राप्त हुन्छ भन्ने विश्वास छ ।

पूजाको शुभकामना

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस