आजकल हाम्रो समाजमा चिना या कुण्डली देखाउने को लहर नै चलेको । रेडीयो या टेलिभिजनमा ज्योतिषिय कार्यक्रमहरु पर्याप्त मात्रामा चलेका छन् ।
कुण्डली देखाएर आफ्नो भविष्यको बारेमा थाहा पाउन हामी निकै उत्सुक भएका छौँ र यस्ता कार्यक्रममा फोन गरि या ज्योतिषिय कार्यालयमा गएर आफ्नो कुण्डली पनि हेराउने गर्दछौँ ? अनि चिना हेराएर वैदेशिक यात्रा, विवाह, जागिर, व्यवसाय , रोगव्याधी आदीको बारेमा विभिन्न प्रश्न गरि आफ्नो समस्याको समाधानका उपायहरु अवलम्बन गर्दछौँ ।
यो कुण्डली देखाएर समस्या समाधानको उपाय खोज्ने चलन अहिले पश्चिमी देशहरुमा समेत व्यापक रुपले बढेर गएको देखिन्छ । हाम्रै देश नेपालमा पनि अहिले केही विदेशीहरुले आ आफ्ना छुट्टै एपहरु बनाइ अन लाइन मार्फत नै ज्योतिष गुरुहरुको सहायतामा विदेशी हरुको चिना हेर्ने सँस्थाहरुको स्थापना गरि कार्य थालिएको निकै वर्ष भइसक्यो ।कुण्डली या चिनामा कसरी विभिन्न पक्षको विचार गरिन्छ भन्ने विषयको चर्चा हामी आज गर्नेछौँ । चिना या जन्मपत्रिकामा विविध विषयको अध्ययनका लागी धेरै प्रकारका कुण्डलीहरु हुने भएता पनि लग्न कुण्डली लाई नै विशेष महत्वका साथ विचार गरिने गरिन्छ ।
साथ साथै नवमांश, भाव, राशि, द्रेष्काण आदि कुण्डलीको पनि सहारा लिएर भविष्यको बारेमा विचार गर्ने गरिन्छ । कुनै पनि बालकको जन्म को समयमा उसको जन्मस्थान बाट पूर्व तर्फ सौर्यमण्डलको कुन भाग अर्थात् राशि पर्दछ र त्यस समयमा ग्रहहरु कुन कुन राशिमा बसेका थिए भन्ने कुराको अध्ययनका आधारमा नै लग्न कुण्डली तयार गरिन्छ ।सोही अनुसार दिन रातमा १२ राशिको अलग अलग कुण्डली तयार हुने गर्दछ । यी १२ कुण्डली नै मानिसहरुको भविष्यको फलादेश गर्न महत्वपूर्ण आधारहरु हुन् । लग्न कुण्डली बाट नै जातकको रुप, स्वभाव, गुण तथा दोषहरु थाहा हुने गर्दछ । कुण्डलीमा १२ वटा भावहरु हुने गर्दछन् ।
यी १२ भाव बाट अलग अलग कुराहरुको विचार गरिन्छ । पहिलो भाव देखि क्रमश १२ भावमा मुख्यतः शरिर, धन, दाजुभाइ, घरपरिवार, सन्तान, समस्या, विवाह, मृत्यु, भाग्य, कर्म, आम्दानी र खर्च हेर्ने गरिन्छ । यसमा पनि शुभ ग्रह बसेको र शुभ ग्रहले देखेको ठाउँलाई राम्रो र अशुभ ग्रह बसेको र अशुभ ग्रहले देखेको ठाउँलाई नराम्रो या कमजोर स्थान मानिन्छ ।यसरी १२ भाव मध्ये ६, ८, १२ भावमा बसेका ग्रहहरुलाई कमजोर र १, ५, ९ भावमा बसेका ग्रहहरुलाई श्रेष्ठ मानिन्छ । श्रेष्ठ भावमा बसेका ग्रहको फल बलियो र अशुभ भावमा बसेका ग्रहको फल कमजोर मानिन्छ ।
कुण्डलीका १२ भावबाट शरिरका १२ अङ्गहरुको पनि विचार गरिन्छ । भावको राशि स्वामी, भाव स्थित राशि, भावलाई दृष्टि दिने ग्रहको आधारमा विभिन्न अङ्गका बनावट हरु हुने गर्दछन् । यसैका आधारमा मानिसको रुप रङ्ग पनि हुने गर्दछ भने सबै कुरा यसैमा मात्र निर्भर नभइ कतिपय कुराहरु चाहिँ बंशाणुगत पनि हुने गर्दछ अर्थात् परिस्थिति अनुसार फरक पनि पर्दछ । जस्तो कि दक्षिण अफ्रिकाको मानिस काला नै हुन्छन् र यूरोपका मानिसहरु गोरा नै हुन्छन ।यसबाट के थाहा हुन आउँछ भने मानिसको कुण्डली अनुसार जीवन चले पनि, ठाउँ र परिस्थिति अनुसार केही फरक अवश्य नै पर्दछ । तसर्थ ज्योतिष शास्त्रमा फलादेशको कामलाई निकै नै कठिन मानिन्छ । भविष्यको फलादेश गर्नको लागि अध्ययन मात्र नभइ अनुभवको पनि निकै जरुरी पर्दछ ।
सामान्यतया शुभ ग्रह बृहस्पति र शुक्र भएता पनि पूर्णिमाको चन्द्रमा र शुभ ग्रह सँगको बुधलाई पनि शुभ ग्रह नै मानिन्छ । सुर्य, मंगल, शनि तथा राहु केतुलाई भने पाप ग्रह मानिन्छ । शुभग्रहको दशा समय शुभ र पाप ग्रहको दशा समय अशुभ हुने भएतापनि जन्मकुण्डलीको आधारमा कहिलेकाहीँ शुभ ग्रहले अशुभ फल र पाप ग्रहले शुभ फल पनि दिन सक्दछन् तसर्थ भविष्यको शुभाशुभ फलादेश गर्नको लागी चिना नै सटिक र सही हुने गर्दछ ।कतिपया मानिसहरु आफ्नो चिना हेराएर नतिजा सही आएन भने ज्योतिष विद्यालाई नै दोष दिन्छन् तर चिना लेख्दा त्यो मानिस जन्मेको ठाउँ र समय सही लेखिएको छ भने मात्रै उसको चिना जीवनसंग मेल खान्छ । त्यसैले चिना मेल खाएन भन्दैमा पूरै विद्यालाई नै दोष दिने मात्रै नभएर आफ्नो चिना बनाउँदा टिपाएको जानकारी पो गलत थियो कि भन्नेबारे पनि बुझ्दा राम्रो हुन्छ ।
पहिले पहिले घडी हुँदैनथियो र मानिस जन्मेको सही समय निकाल्न सकिन्न थियो । त्यस्तो बेला अन्दाजी राखिएका जन्म समयका कारण पनि धेरै मानिसका चिना जीवनसंग मेल नखाएका प्रशस्त उदाहरणहरु हामी भेट्छौं ।



