सोलुखुम्बु: सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् ।
अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन बन्द भएको छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् ।
केहीले बिदा दिने तयारी गरिरहेका छन् । सोलु दूधकुण्ड नगरपालिकामा ६२ सामुदायिक विद्यालयमध्ये ५८, खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ विद्यालयमध्ये १४ र थुलुङ दूधकोशी गाउँपालिकामा ५१ विद्यालयमध्ये सात विद्यालय बन्द भइसकेका छन् ।
यस्तै महाकुलुङ गाउँपालिकामा १९ मध्ये आठ, लिखुपिके गाउँपालिकामा २२ विद्यालयमध्ये छ, नेचासल्यान गाउँपालिकामा ३६ विद्यालयमध्ये चार तथा माप्यदूधकोशी गाउँपालिकामा ३९ विद्यालयमध्ये चार विद्यालय बन्द भएको कार्यालयले जनाएको छ । हिमाली भेगमा चिसो अत्यधिक हुने भएकाले धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस/माघमा जाडो बिदा दिने गरेका छन् ।
यहाँ चिसोका कारण शिक्षक बस्न नसक्ने तथा विद्यार्थीलाई समेत कठिन हुने भएकाले पुस दोस्रो साताबाटै विद्यालय बन्द गरिएको पिके माध्यमिक विद्यालय लोदिङका प्रधानाध्यापक चेतबहादुर मगरले बताए ।
सोताङ गाउँपालिका क्षेत्रका कुनै पनि विद्यालयले जाडो बिदा दिएका छैनन् । सोताङ न्यानो ठाउँ भएकाले त्यहाँको कुनै पनि विद्यालय बन्द नगरिएको गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले बताए ।