शिक्षामकवानपुरमा एसईई नतिजामा सुधार, थाहा र मकवानपुरगढीले मारे फड्को

मकवानपुरमा एसईई नतिजामा सुधार, थाहा र मकवानपुरगढीले मारे फड्को

हेटौँडा । मकवानपुर जिल्लाको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा अधिकांश स्थानीय तहले अघिल्लो दुई वर्षको तुलनामा सुधार गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले सार्वजनिक गरेको पालिकागत तथ्यांकअनुसार थाहा नगरपालिका, मकवानपुरगढी, इन्द्रसरोवर र बागमती गाउँपालिकाले उल्लेखनीय सुधार गरेका छन् । यद्यपि राक्सिराङ र कैलाश गाउँपालिकाको नतिजा अझै कमजोर देखिएको छ ।

जिल्लाभरबाट एसईई परीक्षामा सहभागी ५ हजार ५ सय २७ विद्यार्थीमध्ये २ हजार ८ सय १८ जना अर्थात् ५० दशमलव ९९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । अघिल्लो वर्षको तुलनामा जिल्लागत नतिजामा सामान्य सुधार देखिए पनि मकवानपुरको समग्र नतिजा अझै राष्ट्रिय औसतभन्दा कमजोर रहेको शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका भने लगातार जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने पालिका बनेको छ । हेटौँडाको उत्तीर्ण प्रतिशत २०८० मा ५४ दशमलव ५, २०८१ मा ६१ दशमलव ८ र २०८२ मा ६४ दशमलव ६४ पुगेको छ । जिल्लाको समग्र सुधारमा हेटौँडाको योगदान उल्लेखनीय देखिएको छ । यता थाहा नगरपालिकाले २०८० मा २७ दशमलव ५ प्रतिशत रहेको उत्तीर्ण दर २०८१ मा ४४ दशमलव ३ हुँदै २०८२ मा ५६ दशमलव ८५ प्रतिशत पुर्‍याएको छ । मकवानपुरगढी गाउँपालिकाले पनि १५ दशमलव ३ प्रतिशतबाट बढेर यस वर्ष ४५ दशमलव ७१ प्रतिशत नतिजा हासिल गरेको छ ।

इन्द्रसरोवर गाउँपालिकाले २०८० मा १६ दशमलव ७ प्रतिशतबाट सुरु गरेको सुधार यात्रालाई निरन्तरता दिँदै यस वर्ष ४१ दशमलव ३३ प्रतिशत नतिजा ल्याएको छ । बागमती गाउँपालिकाले ८ प्रतिशतबाट बढेर २९ दशमलव ५८ प्रतिशत नतिजा हासिल गरेको छ भने भीमफेदी गाउँपालिकाले ९ दशमलव ८ प्रतिशतबाट २५ दशमलव ७३ प्रतिशतसम्म सुधार गरेको देखिएको छ । बकैया गाउँपालिकाको नतिजा पनि १२ दशमलव ९ प्रतिशतबाट बढेर २४ दशमलव ८६ प्रतिशत पुगेको छ ।

मनहरी गाउँपालिकाले २०८१ मा ३३ दशमलव १ प्रतिशत नतिजा ल्याएकोमा यस वर्ष भने केही गिरावट आउँदै २९ दशमलव २४ प्रतिशतमा सीमित भएको छ । कैलाश गाउँपालिकाले २०८० मा ५ दशमलव ५ प्रतिशतबाट २०८१ मा २३ दशमलव २ प्रतिशतसम्म सुधार गरे पनि यस वर्ष १८ दशमलव १२ प्रतिशतमा झरेको छ । राक्सिराङ गाउँपालिकाको अवस्था भने अझै कमजोर देखिएको छ । २०८० मा ९ दशमलव ८ प्रतिशत रहेको नतिजा २०८१ मा घटेर ६ दशमलव ५ प्रतिशत पुगेको थियो । यस वर्ष केही सुधार भए पनि उत्तीर्ण प्रतिशत ११ दशमलव ३६ मै सीमित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img