बागमती प्रदेशमकवानपुरमकवानपुरका ७९ वडामा रास्वपाको अधिवेशन सम्पन्न, पालिका अधिवेशनको मिति तय

मकवानपुरका ७९ वडामा रास्वपाको अधिवेशन सम्पन्न, पालिका अधिवेशनको मिति तय

हेटौँडा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले वडा अधिवेशनलाई तीव्रता दिँदै थप वडाहरूमा संगठन विस्तारलाई अघि बढाएको छ। पार्टीका अनुसार जिल्लाका १०२ वडामध्ये यसअघि ६५ वडामा अधिवेशन सम्पन्न भइसकेको थियो भने पछिल्लो चरणमा थप १४ वडामा अधिवेशन सम्पन्न भएपछि कुल संख्या ७९ पुगेको छ। बाँकी वडाहरूमा पनि छिट्टै अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ।

शनिबार र आइतबार सम्पन्न अधिवेशनअन्तर्गत हेटौँडा उपमहानगरपालिकाका ४ वडा, मनहरी गाउँपालिकाका २ वडा, कैलाश गाउँपालिकाका ४ वडा, मकवानपुरगढी गाउँपालिकाका ३ वडा तथा थाहा नगरपालिकाको १ वडामा अधिवेशन सम्पन्न भएको हो। पार्टीले दोस्रो चरणको अधिवेशन अपेक्षाकृत व्यवस्थित र सहभागितामूलक रूपमा सम्पन्न भएको जनाएको छ।

रास्वपाले वडा तहबाटै नेतृत्व चयन प्रक्रिया अघि बढाउँदै संगठन सुदृढीकरणमा जोड दिएको छ। पार्टीका अनुसार केही स्थानमा प्राविधिक तथा व्यवस्थापकीय चुनौती देखिए पनि अहिले अधिवेशनले गति लिएको छ।

यसैबीच शनिबार बसेको जिल्ला स्तरको बैठकले पालिका अधिवेशनको कार्यतालिकासमेत तय गरेको छ। रास्वपा मकवानपुरकी जिल्ला सह–सचिव शान्ति थापा बिडारीका अनुसार हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको पालिका अधिवेशन जेठ १० गते हुनेछ। थाहा नगरपालिकाको जेठ ९ गते, इन्द्रसरोवर गाउँपालिकाको जेठ १३ गते तथा बकैया, राक्सिराङ, कैलाश र बागमती गाउँपालिकाको जेठ १६ गते पालिका अधिवेशन गर्ने निर्णय गरिएको उनले जानकारी दिइन्।

“पहिले नै ६५ वडामा अधिवेशन सम्पन्न भइसकेको थियो, अहिले थप वडामा अधिवेशन सम्पन्न भएको छ,” बिडारीले भनिन्, “अब पालिका अधिवेशनको तयारी पनि सँगै अघि बढाइएको छ।”

उनले भौगोलिक अवस्था र प्राविधिक चुनौतीका बाबजुद बाँकी वडामा पनि चाँडै अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img