Friday, February 7, 2025
शिक्षाफेसबुक वालबाट सुरू भएको शिक्षक आन्दोलन

फेसबुक वालबाट सुरू भएको शिक्षक आन्दोलन

काठमाडौं | विद्यालय शिक्षा विधेयक संसद्बाट पारित गराउन शिक्षकहरू फेरि आन्दोलित भएका छन्। नेपाल शिक्षक महासंघले देशव्यापी रूपमा पहिलो चरणको आन्दोलन सुरू गरेको घोषणा गर्दै आन्दोलनको सुरूआत अनौठो शैलीमा गरेको छ— सबै शिक्षकले आफ्नो फेसबुक वालबाट नै। माघ २० गतेदेखि महासंघले ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने नारा उल्लेख गरिएको पोस्ट शिक्षकहरूको फेसबुक वालमा अपलोड गराएको छ। सामाजिक सञ्जालबाट सुरू भएको यो आन्दोलन अब चरणबद्ध रूपमा सडकसम्म फैलिने देखिन्छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ऐन पारित नभएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएका छन् । उनका अनुसार शिक्षकहरूको हकहित सुनिश्चित नभएसम्म आन्दोलन रोकिने छैन। माघ १६ र १७ गते बसेको महासंघको बैठकले एक महिनासम्म चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो। त्यसयता महासंघले देशभरका शिक्षकहरूलाई ऐनको पक्षमा एकजुट हुन आह्वान गरिरहेको छ।

पहिलो चरणमा, शिक्षकहरूले स्थानीय तहदेखि संघीय सरकारसम्म आफ्ना माग पुर्‍याउने रणनीति बनाएका छन्। माघ २५ गते शिक्षकहरूले सबै पालिकामा ध्यानाकर्षणपत्र बुझाउने छन्। त्यसपछि, माघ २९ गते विद्यालयहरूमा विद्यार्थी, अभिभावक, शिक्षक तथा व्यवस्थापन समितिहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। कालो पट्टी बाँधेर विरोध जनाउने, जुलुस निकाल्ने र संसद्मा ऐनको दबाब बढाउने योजना बनाइएको छ।

महासंघको योजनाअनुसार, फागुन ९ गते सातै प्रदेशमा वृहत् जुलुस निकालिनेछ भने फागुन ११ गते संघीय सांसदहरूलाई ध्यानाकर्षण गराउने कार्यक्रम छ। आन्दोलनको अन्तिम चरण राजधानीमा फागुन १७ गते हुने खबरदारी सभाले टुंगो लगाउनेछ। तर, यदि सरकारले माग पूरा गरेन भने महासंघले फागुन १९ पछि दोस्रो चरणको कडा आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ।

विद्यालय शिक्षा विधेयक हाल संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलकै क्रममा छ। तर महासंघले यो विधेयक तत्कालै पारित गरिनुपर्ने अडान लिएको छ। शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार, महासंघको मुख्य उद्देश्य विधेयक पारित गराउनु मात्र नभई, शिक्षकका माग पूरा गर्न दबाब दिनु हो।

शिक्षा मन्त्री विद्या भट्टराईले भने आफ्नो कार्यकालमै शिक्षा ऐन ल्याएरै छाड्ने प्रतिबद्धता जनाईरहेका छन् । तर, संसद्भित्रका दलगत स्वार्थ, शिक्षक संगठनहरूका फरक मत तथा निजी विद्यालयहरूको दबाबका कारण विधेयक सहजै पारित हुने सम्भावना देखिँदैन।

महासंघको आन्दोलन तीव्र हुँदै गए शिक्षा क्षेत्र थप प्रभावित हुने देखिन्छ। शिक्षकहरूले माग पूरा गराउन सडक तताउने संकेत दिइसकेका छन्। आन्दोलनले सरकारलाई दबाब दिने हो, तर विद्यार्थीहरूलाई पर्न सक्ने असरबारे अहिलेसम्म कुनै गम्भीर छलफल भएको छैन। आगामी दिनमा यो आन्दोलन अझ कति चर्किन्छ, त्यसले नेपालको विद्यालय शिक्षामा कस्तो प्रभाव पार्छ, सबैको ध्यान त्यतैतिर केन्द्रित हुनेछ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस