काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।
यस वर्ष परीक्षामा सहभागी विद्यार्थीमध्ये ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन्। गत वर्ष ५२ प्रतिशत मात्र उत्तीर्ण भएकामा यसपटक नतिजा सुधार भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार अङ्ग्रेजी, लेखा, सामाजिक र नेपाली विषयमा धेरै विद्यार्थी ननग्रेड (फेल) भएका छन्।
गत वैशाखमा सञ्चालन भएको परीक्षामा ५ लाख ११ हजार विद्यार्थी सहभागी भएका थिए। नियमिततर्फ ३ लाख ९६ हजार ३ सय ४७ विद्यार्थीमध्ये २ लाख ४२ हजार ४ सय ६५ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। आंशिकतर्फ १ लाख १४ हजार ६ सय ४० विद्यार्थीमध्ये ३६.४९ प्रतिशत अर्थात ४१ हजार ८ सय ४० जना उत्तीर्ण भएका छन्। बोर्डका अनुसार १ लाख ५३ हजार ८ सय ८२ विद्यार्थी ननग्रेड भएका छन्।
यसपटक ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५ सय २ जना रहेका छन्। त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८ सय ९६ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने ६९ हजार ८ सय १२ जना र २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९ सय ६४ जना रहेका छन्। जीपीए १.६१ देखि २ ल्याउने विद्यार्थीको संख्या २३ मात्र रहेको बोर्डले जनाएको छ।
नतिजा सार्वजनिकसँगै बोर्डले दुई विषयसम्म ननग्रेड हुने विद्यार्थीलाई आगामी भदौ २८ र २९ गते हुने ग्रेडवृद्धि (मेक–अप) परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाएको छ। अन्य सबै विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड ल्याई दुई विषयमा मात्र ननग्रेड पाएका वा अनुपस्थित भएका विद्यार्थीले यो अवसर पाउनेछन्।
यस वर्षको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटसँगै नेपाल टेलिकममार्फत पनि हेर्न सकिने छ।



