Sunday, September 15, 2024
निर्वाचनमकवानपुरमा ढल्यो एमालेको 'लालकिल्ला'

मकवानपुरमा ढल्यो एमालेको ‘लालकिल्ला’

मकवानपुर। नेकपा एमाले मकवानपुरको सबै भन्दा ठुलो दलको रूपमा रहेको थियो। जिल्लालाई एमालेको गढ नै मानिने गरिएको थियो। तर स्थानीय निर्वाचन २०७९ ले एमालेको लाल किल्ला मकवानपुरमा ढालेको छ। यो स्थानीय चुनावमा गठबन्धनलाई पत्ता साफ गर्ने एमालेले पहिले नै उद्घोष गरेको थियो तर अवस्था एमालेले चुनाव अघि सोचेको जस्तो भएन। निर्वाचनको मत परिणाम एमालेले सोचे भन्दा ठिक विपरीत आयो।

गठबन्धनलाई क्लिनस्विप पार्ने दाउमा रहेको एमाले जिल्लाको केही स्थानमा आफै पत्ता साफ भयो। एमालेले पार्टी फुटलाई नजरअन्दाज, उम्मेदवार उठाउँदा केन्द्रीय नेता तथा नजिककालाई टिकट दिने र असली कार्यकर्ताको भावनालाई बुझ्न नसक्नु एमालेको ओरालो यात्राको मुख्य कारण हो भन्दा फरक पर्दैन। यो निर्वाचनमा पार्टी भित्रै अन्तर्घात भएकाले पनि एमालेले ठुलो धक्का व्यहोर्नु पर्‍यो।

हेटौँडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाले २३ हजार ७५ मत ल्याउँदै विजयी भएकी छिन्। एमालेका अनन्त पौडेललाई उनले २ हजार १६७ मतान्तरले पछि पारिन्। एमालेका पौडेलले २० हजार ९०८ मत प्राप्त गरे भने राप्रपाका दीपक बहादुर सिंह २० हजार ५३१ मत प्राप्त गरे।

त्यस्तै हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा गठबन्धन तर्फका उम्मेदवार नेपाली काँग्रेसका राजेश बानियाँ विजयी भए। उनले ३२ हजार ५९३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेलाई ८ हजार ६८४ मतले पछि पार्दै जित हासिल गरे।

यसपालि एमालेले अघिल्लो निर्वाचनमा राम्रो मत ल्याएको वडा तथा पालिकामा समेत लज्जास्पद हार बेहोरेको छ। मत परिणाम प्रतिकुल बन्दै गएपछि जिल्लाका केही नेता तथा कार्यकर्ताले घात र अन्तर्घातका कुराहरू सामाजिक सञ्जालमा समेत पोखेका छन्। मकवानपुरको १०२ वटा वडा मध्ये काँग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २४ र एमालेले ३३ वडामा अध्यक्ष जितेको छ। त्यस्तै भीम फेदी गाउँपालिकाको अध्यक्ष र इन्द्र सरोबर गाउँपालिकामा मात्र अहिले सम्म एमालेले जित हात पारेको छ।

गठबन्धनलाई धुलो चटाउँछौँ भन्दै २०७९ को निर्वाचनमा होमिएको एमाले निर्वाचन पश्चात् मतगणनामा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेल तेस्रो स्थानमा झर्नु पर्ने अवस्था पनि आइपुग्यो। एमालेकै गढ मानिएको वडामासमेत उनलाई भोट आएन। हेटौँडाको १४ र १५ नम्बरको मतका कारण उनी मतगणनामा दोस्रो स्थानमा उक्लिए ।उनलाई आफ्नै पार्टीबाट राप्रपामा भोट गएपछि उनलाई राप्रपाका दीपक सिंहले पछि पारे। हेटौँडामा एमालेको राम्रो पकड रहेको भनिएको वडा नम्बर- ३, ४, ५,९,११ लगायतका स्थानमा समेत पौडेलले मत पाउन सकेनन्। हेटौँडाको १९ वटा वडा मध्य एमालेको भागमा ९ वटा वडा मात्र पर्‍यो।

त्यस्तै जिल्लाका १० स्थानीय तह मध्ये एमालेले जम्मा २ स्थानीय तहमा चित्त बुझाउनु पर्‍यो। एमालेले जिल्लाको इन्द्र सरोबर र भीम फेदी गाउँपालिकाको मात्र प्रमुख पायो। त्यस्तै ०७४ को निर्वाचनमा राम्रो जित हासिल गरेको पालिका पनि एमालेले यसपालि गुमाउनु पर्‍यो। गत निर्वाचनमा वडामा बहुमत विजयी भएको एमालेले स्थानीय निर्वाचन २०७९ मा जित भन्दा हार धेरै सहनुपर्‍यो।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img