काठमाडौं- नेपालमा आमनिर्वाचन हुँदैछ । ०७२ मा जारी भएको संविधानअनुसार लागू भएको संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्था अन्तर्गतको दोस्रो पटक संसदीय चुनाव हुन लागेको हो ।
यसअघि ०७४ मा चुनाव भएको थियो ।आज बिहान ७ बजेबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि देशैभर निर्वाचन हुँदैछ । मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनले हरेक मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने बताएका छन् ।
निर्वाचनका लागि पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य १ सय ८५ गरी कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् ।देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । समानुपातिकतर्फका लागि अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ । ४ लाख ५० हजार अस्थायी मतदाता छन् ।०७४ मा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता रहेकामा १ करोड ५ लाख ९३ हजार ९ सय ७१ ले मतदान गरेका थिए ।
आयोगले मतदानका दिन अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारी साधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ । आयोगबाट स्वीकृत मापदण्डबमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकएका अधिकारीलाई निर्देशन दिइसकिएको छ ।
आज सार्वजनिक यातायात बन्द रहनेछन् भने चार्टरबाहेकका उडान पनि ठप्प रहनेछन् ।सरकारले आज र भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।