म्याग्दी – वास्तवमा हाम्रो शुरुवाती गन्तव्य म्याग्दी जिल्लाको सदरमुकाम बेनी जहाँ ,माघे सक्रान्ती मेला चलिरहेको थियो,सोहि मेलामा रमाउन २०७९ माघ ६ गते शुक्रबार जाने निधो गरियो।
पश्चिम म्यागदीको दर्वाङ्गबाट २ जना,पोखराबाट एकजना र म बाबियाचौरबाट। पोखराबाट आउने साथी साँझ ६ बजे र दर्वाङ्गबाट साथीहरु ४ बजे हिड्ने र म सँग बाबियाचौर भेट भएर ३ जना जाने गरि यात्रा तय गरियो। साँझ ७:३० मा सबै साथीहरू भेट भएर बेनी बजारको खुलामञ्चमा साँगीतिक कार्यक्रममा राती १०:०० बजे सम्म जानि नजानि नाचेर रमाईलो गरियो। सुत्नको लागि अस्पताल चोक जाने निर्णय गरिएको थियो, तर १ जना साथी गायब हुनुभयो हाहाहा….बिहान भेट हुने गरी ।
बिहान उठीयो, अब सबै सानोतिनो जागिरमा आवद्ध शनिवार पनि भोलीपल्ट आईतबार पनि विदा, कामको तनाव भुल्न कहिँ त जाउँ भन्ने कुरा चल्यो। यतिकैमा गलेश्वर शिवालय दर्शन गरेर आएपछी खाना खाएर कहाँ जाने निश्चित गर्ने सल्लाह भयो। बेलुका गायब भएको साथी पनि आउनुभो। दर्शन गर्न ३ जना गयौँ पोखरा बाट आएको साथी काम विशेषले कहाँ जानु भो थाहा भएन ।दर्शन गरेर आई खाना खाएपछी एकैपटक बन्जी हान्न जाऊँ आँट आए हानौला नत्र हेरेर आउँला भन्ने कुरा भयो अनि,लागियो पर्वत सदरमुकाम कुश्मा तिर।
विश्वकै दोश्रो अग्लो बन्जी २२८ मिटर ‘द क्लिफ’ द्वारा सञ्चालनमा रहेको छ। बन्जी हानेको हेर्न टिकट लिनुपर्ने रहेछ,टिकट लियौँ हेर्नको लागि पुलबाट गयौँ । मैले सोधेँ – हानिन्छ त साथी? आ…ढुक्क जवाफ आयो। “म त पिङ्ग खेल्न त डराउँछु” अर्को साथीको जवाफ। यस्तै गफ गर्दै बन्जी गर्ने नजिकै पुग्यौँ।
त्यहाँ त धेरै मान्छे बन्जी हान्न तम्तयार रहेका रहेछन् । कोहीकोही हानिरहेका थिए। बन्जी हानिरहेकाहरुलाई हेर्दा मनमा कौतुहलता र उत्सुकता पलाएर आयो। चाँडो गएर हान्न पाए पनि हुन्थ्यो जस्तो लाग्यो । अरुले सहज रुपमा अप्ठ्यारो लागेको काम गरिरहेको देख्दा मनमा आँट आउँदोरहेछ । हाम फालिहाल्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो। बन्जी हानेको भिडियो हेर्दा लाग्थ्यो, मान्छेले कुन आँटले त्यति सानो डोरीबाट हाम फाल्छन् ? व्यवसायिक हिसाबले संचालन गरिएकाले डोरी चुँडिने भय त मनमा थिएन । तर, हाम फाल्न भने ठूलै मुटु चाहिन्छ भन्ने लागिरहन्थ्यो ।
दुई सय २८ मिटर माथिबाट खुट्टामा डोरी बाँधेर हाम फाल्नुपर्ने । अनि त्यसैलाई रमाइलोे मान्नुपर्ने । अहो ! सोच्दैमा पनि डर लाग्ने ।
‘लाखौंमा एउटा डोरी चुडिन्छ भनेको सुनेको, मेरै पालोमा चुँडियो भने……..?’ हल्का डरको अनुभुती लागेको थियो। तैपनि सबैले त गरिरहेका छन् भने म किन डराउने ? लाखौंमध्ये एकमा पर्छु भने पनि परुँ । तर, जसरी पनि यो ईच्छा पुरा गर्छु भन्ने सोच आयो।
जोसै जोसमा २ जना साथीले फारम भ¥यौं । त्यसपछि बन्जीका लागि पुलबाट बन्जी पोइन्टतिर लाग्यौं । तौल लिँदा साथी ८२ केजी म ७४।
बन्जी कसरी गर्ने, कसरी सुरक्षित रहनेबारे बन्जीका क्रु मेम्बरहरुले ब्रिफिङ गरे । ध्यान दिनुपर्ने कुराहरु सम्झाए । त्यसपछि म पहिला जम्प गर्छु भनेको साथीको तौल बढी भएर मेरो भन्दा पहिला पालो साथीको आयो । बन्जी नगर्ने साथीलाई बाहिरबाट भिडियो लिइदिनको लागी भनेका थियौँ।
६-७ जना थियौँ त्यहाँ बन्जी गर्ने । साथी पछी तौलको आधारमा मेरै पालो पर्यो। खुट्टामा डोरीहरू मिलाउँदै तयार हुँदै थिएँ , साथी त जम्प गरेर आईसकेको थाहै पाईन। अब भने थोरै मनमा चिसो पस्यो- “ल्या अब त मेरै पालो”। जब बन्जी गराउने दाईले अगाडी पुगेपछि थोरै खुट्टा अगाडी–पछाडी सार्न भने, मुटुले ठाउँ छोड्यो । मलाई बन्जीका कुरा गर्दा त्यति डर लागेको थिएन, जब म बन्जी हान्न तम्तयार भएर उभिएँ । तर हिम्मत गरेर डरलाई मनमै दबाएर राखेँ । बन्जी गराउने दाइले भने -“ल ब्रो रेडी है” मैले तल हेरेँ -लाग्यो अब सकिएँ। दाईले भनेँ- “भाई तल होईन अघि हेर्नुस् ” “लामो लामो श्वास लिनुस्” रेडी थ्री..टु..वान.. गो….।
जब हाम फालेँ, तल पुगेर डोरीमा नझट्किउन्जेलसम्म केहि थाहै पाईन । मानौं चार सेकेण्डका लागि म मरेँ । अनि केही सेकेण्डपछि फेरि बाँचेँ । हाम फालेर तल पुग्दासम्मको क्षण मलाई केही पनि याद छैन । त्यस क्षण मैले आफूलाई संसारमै सबैभन्दा बढी माया गरेको क्षण थियो ।
मैले न मेरा नजिकका साथीलाई सम्झिएँ । न जन्म दिने आमा बालाई सम्झिएँ । मलाई त भगवानलाई सम्झिने पनि फुर्सद भएन ।
तल पुगेर पहिलो पटक डोरि झट्का लिएपछि बल्ल आँखा खुल्यो । सबै कुरा महसुस भएपछि बल्ल मैले बन्जीको अनुभव लिन थालेँ । तल वरिपरि हरियाली, बिचमा त्यो काली गंगा आहा!
तीन पटक डोरी झट्कालिएपछि मैले खुट्टामा बाँधिएको डोरीसँगैको रातो अर्को डोरि तानेर मेरो खुट्टाहरु सोझ्याएँ । अनि हातमा बाँधिएको क्यामेरामा आफ्नो अनुभवहरु बताउँदै रमाइलो लिन थालेँ । सुरुमा लागेको डर त्यसबेलासम्म रमाइलोमा परिणत भइसकेको थियो ।
मलाई तलबाट माथि तान्ने अर्को डोरि म भए ठाउँसम्म आइपुग्यो । मैले त्यसलाई कसिलो गरी मेरो कम्मरमा भएको डोरीमा अल्झाएँ । अनि दुई हात फिँजाएर म माथि आउन तयार छु भन्ने संकेत गरेँ ।
मेरै पालोमा डोरी चुडिएला सोचेको मैले सकुशल बन्जी गरेँ ।
बन्जी गरिसकेपछि हामी घुम्नका लागि पुल पारि गयौं । द क्लिफको रिसोर्ट भएतिर त्यहाँ केहि फोटो खिच्यौं । त्यसपछि हामी द क्लिफबाटै सञ्चालित होटेलमा आफ्नो–आफ्नो बन्जी अनुभव सुनाउँदै खाजा खायौं र फर्कियौँ ।