हेटौँडा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् । बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट अर्याल २ मतको झिनो अन्तरले सभापतिमा निर्वाचित भएका हुन् ।
अधिवेशनमा सहभागी रास्वपा मकवानपुर जिल्ला सहसचिव शान्ति थापा बिडारीका अनुसार अर्यालले ४१८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी डा. अच्युतम लामिछानेले ४१६ मत प्राप्त गरेका छन् । लामिछाने नुवाकोटबाट निर्वाचित सांसद एवम् रास्वपा बागमती प्रदेशका निवर्तमान सभापति हुन् ।
अर्याल निर्वाचित भएसँगै रास्वपा बागमती प्रदेशको नेतृत्व मकवानपुरले पाएको छ । प्रदेश समितिमा मकवानपुरबाट सुनिता राई र राधिका सिलवाल सर्वसम्मत सदस्य चयन भएका छन् भने विनय राई कार्की निर्वाचित भएका छन् । सभापतिसहित मकवानपुरबाट तीन जना सदस्य प्रदेश समितिमा चयन भएको बिडारीले जानकारी दिइन् ।
यसअघि हेटौँडामा सुरु भएको प्रदेश अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया विवादका कारण स्थगित भएको थियो । स्थगित निर्वाचन केन्द्रीय निर्वाचन आयोगको नयाँ कार्यतालिकाअनुसार काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट दरबारमा विद्युतीय मतदान मेसिनमार्फत सम्पन्न गरिएको हो ।
६५ सदस्यीय प्रदेश समिति चयन भएसँगै अब उपसभापति, महामन्त्री र सहमहामन्त्री चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । रास्वपाको व्यवस्थाअनुसार प्रदेश समितिमा निर्वाचित सदस्यहरूबाटै पदाधिकारी चयन गरिने बिडारीले जानकारी दिइन् ।



