काठमाडौं: नेपालको वर्तमान राजनीतिक अवस्था तथा दलका क्रियाकलापको आलोचना गर्दै पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको एउटा सन्देशलाई विभिन्न राजनीतिक दलका नेताहरूले आलोचना गरेका छन् भने ‘राजसंस्था पक्षधर’ले त्यसको प्रशंसा गरेका छन्।
समसामयिक राजनीतिका कैयौँ विषयमा भिन्न मत व्यक्त गर्ने गणतन्त्र पक्षधर विपक्षी दलका नेताले पनि ज्ञानेन्द्रको अभिव्यक्तिलाई उचित मानेका छैनन्। कतिपय नेताले पूर्वराजाको अभिव्यक्ति “संविधानविरोधी” र “देशमा द्वन्द्व निम्तियोस् भन्ने मनसाययुक्त” भएको आरोप लगाएका छन्।
आफूलाई ‘राजसंस्था’को प्रखर हिमायती मान्ने एउटा दलका अध्यक्षले चाहिँ पूर्वराजाले “देशको अहिलेको अवस्थाको यथार्थ चित्रण गरेको” र “उनलाई संविधानले नै त्यस्तो गर्ने अधिकार दिएको” बताए।
पूर्वराजा ज्ञानेन्द्रको सन्देशमा के छ?
पूर्वराजा शाहले शुक्रवार आफ्ना सचिव फणिराज पाठकमार्फत् दशैँको शुभकामना दिन एउटा भिडिओ सन्देश जारी गरेका हुन्। उक्त सन्देशको सुरुमा उनले देशवासीलाई दशैँको शुभकामना दिएका छन्।
त्यसपछि पूर्वराजाले “… कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन” भन्दै राजनीतिक टिप्पणी गरेका छन्।
भिडिओ सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सङ्गठित राजनीतिक दल र जनप्रतिनिधिबाट जनभावनाअनुरूप काम नभएको भन्दै प्रश्न उठाएका छन्।
उनले सन्देशमा भनेका छन्ः “पदलोभ, सत्तास्वार्थ र भागबन्डा गरेर आफ्नै सुविधाभोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ?” “कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अङ्गभित्र उत्पन्न विवाद, विग्रह र विकृतिको आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ। यो अवस्थाले जनतामा उत्साह छैन।”
उनका भनाइमा मुलुकको भविष्यप्रति र भविष्य निर्माणप्रति कुनै भरोसा रहेको छैन। पूर्वराजाले अहिलेको स्थितिबारे भनेका छन्, “दायित्व के? गर्ने के? गर्न नहुने के? न्यायिक मूल्य के हो? के होइन? यी सबै कुराको निराकरण कसले गर्ने, कोबाट हुने? देश र जनतासामु खट्किएको ज्वलन्त प्रश्न यही हो।”
देशप्रति बफादार, जनताप्रति उत्तरदायी विधि, व्यवस्था, सङ्गठन एवं प्रतिनिधित्वको सही पात्र अहिले देशले खोजिरहेका उनको भनाइ छ। उनले परम्परादेखि चल्दै आएको “सनातनी मूलभूत महिमा”लाई बिथोलेर, केही नामान्तर गरेर सुन्दर र नौलो नेपाल नबन्ने पनि उल्लेख गरेका छन्।
“पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतार्तफ धकेल्नु हुन्न भन्ने आमभावना रहेको छ,” उनले भनेका छन्।
पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिले केलाई लक्ष्य गरेको हो?
शाहले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेकोतर्फ सङ्केत गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेका छन्।
ज्ञानेन्द्रले भनेका छन्, “एकातिर होनहार नागरिकहरू बाहिर गएर भूभाग र हामीलाई उजाड पारिरहेका छन् भने अर्कातिर बाहिरियाहरूलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ।”
उनले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको बताएका छन्। पूर्वराजाले भनेका छन्, “डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्शनको अपरिहार्यता सिद्ध गरेको छ।”
“परराष्ट्रनीति असन्तुलित भइदिँदा राष्ट्रिय हित र सुरक्षा सङ्कटग्रस्त बन्दै गएको छ। व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ। सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ।” सन्देशको अन्त्यतिर उनले राजसंस्थाले देशको “अभिभावकीय” भूमिका लिनुपर्ने जनचाहना पूर्ति गर्नसक्ने सङ्केत पनि गरेका छन्।



