हेटौँडा | चार पटक सांसद बनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्। बुधबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले चुनावी प्रतिस्पर्धाबाट अलग रहने निर्णय सार्वजनिक गरेका हुन्।
पार्टीभित्र मकवानपुर निर्वाचन क्षेत्र नं. १ वा २ बाट उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला खतिवडाले चुनाव नलड्ने घोषणा गरेका हुन्। नेकपाले गत पुस १३ गते मकवानपुर जिल्लाबाट खतिवडाको नाम दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिसकेको थियो।
पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका खतिवडाले आफू चुनाव नलडे पनि राजनीतिबाट विश्राम नलिने बताएका छन्। पछिल्लो समय नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको बहस तीव्र बनेको र जेन–जी आन्दोलनपछि यो विषय थप चर्किएपछि आफूले चुनाव नलड्ने निर्णय लिएको उनको भनाइ छ। पार्टी नेतृत्वसँग कुनै असन्तुष्टि नभए पनि गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको सम्मानस्वरूप यो निर्णय लिएको र अब अभिभावकको भूमिकामा रहेर पार्टी निर्माणमा लाग्ने बताएका छन्।
विसं २०४३ सालदेखि निरन्तर मकवानपुरबाट निर्वाचन लड्दै आएका खतिवडाले चार पटक निर्वाचन जितेका छन् भने दुई पटक पराजय भोगेका छन्। उनी २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचन र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए। उनी विशेषगरी मकवानपुरको उत्तर तथा पश्चिम भूभाग समेटिएको मकवानपुर–२ क्षेत्रबाट निर्वाचन लड्दै आएका छन्।
चार पटक निर्वाचन जिते पनि खतिवडाले २०७८ सालमा पहिलो पटक मन्त्री बन्ने अवसर पाएका थिए। पत्रकार सम्मेलनमा उनले मन्त्री हुँदा चित्लाङमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय सञ्चालनमा ल्याइएको उल्लेख गरे।
विसं २०४३, २०४८, २०५१, २०५६, २०७४ र २०७९ गरी ६ पटक निर्वाचनमा प्रतिस्पर्धा गरेका खतिवडाले २०६४ र २०७० सालमा भने उम्मेदवार बन्ने अवसर पाएका थिएनन्। वर्तमान सुशीला कार्की नेतृत्वको सरकार विशेष परिस्थितिमा बनेको भन्दै कानुनी आधारमा संसद् पुनःस्थापनाको चर्चा अस्वाभाविक रहेको उनले बताए।
खतिवडाले नेपाली कम्युनिस्ट पार्टीसहित अधिकांश राजनीतिक दल निर्वाचनको पक्षमा रहे पनि नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचन भाँड्ने प्रयास गरिरहेको आरोपसमेत लगाए।



