हेटौँडा । मकवानपुर जिल्लामा १ लाख ८ हजार ३ सय ८३ जना गरिब रहेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले २५ पुसमा सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०८२ प्रतिवेदनअनुसार जिल्लाको २३.४६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको छ।
प्रतिवेदनमा देशभरका ७ सय ५३ वटै स्थानीय तहको गरिबी दर सार्वजनिक गरिएको छ। २०७८ सालको जनगणनाअनुसार मकवानपुरका १० स्थानीय तहमध्ये राक्सिराङ गाउँपालिका सबैभन्दा बढी गरिब भएको पालिका बनेको छ। राक्सिराङको कुल २६ हजार ९ सय ९६ जनसंख्यामध्ये १७ हजार ६३ जना अर्थात् ६५.६४ प्रतिशत नागरिक गरिब रहेका छन्। यो तथ्यांकअनुसार राक्सिराङ देशकै सबैभन्दा बढी गरिब हुने पालिकामध्ये छैटौं स्थानमा परेको छ।
उपलब्ध तथ्याङ्कअनुसार हेटौँडा उपमहानगरपालिकामा गरिबको प्रतिशत २४.०१ प्रतिशत रहेको छ भने थाहा नगरपालिकामा २४.७५ प्रतिशत नागरिक गरिब रहेका छन्। यस आधारमा थाहा नगरपालिका हेटौँडाभन्दा कम गरिब देखिन्छ। भीमफेदी गाउँपालिकाको अवस्था पनि जिल्लाका कम गरिब पालिकामध्ये पर्ने बताइए पनि विस्तृत तथ्याङ्क सार्वजनिक गरिएको छैन।
बागमती गाउँपालिकामा ३० हजार ४ सय २५ जनसंख्यामध्ये १४ हजार ५ सय ७२ जना अर्थात् ४७.९ प्रतिशत मानिस गरिब छन्। जिल्लाकै सानो गाउँपालिका इन्द्रसरोवरमा १३ हजार ५ सय ३४ जनसंख्यामध्ये ५ हजार ७ सय ४४ जना (४२.४४ प्रतिशत) गरिब छन्, जुन दुर्गम कैलाश गाउँपालिकाभन्दा पनि बढी हो। कैलाशमा २१ हजार ८ सय ५६ जनसंख्यामध्ये ८ हजार ८ सय ४३ जना अर्थात् ४०.४६ प्रतिशत गरिब रहेका छन्।
जिल्लाकै बढी जनसंख्या रहेको मनहरी गाउँपालिकामा ४७ हजार ३ सय ५३ जनसंख्यामध्ये १२ हजार ४ सय ५७ जना अर्थात् २६.३१ प्रतिशत व्यक्ति गरिब छन्।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार ४ लाख ५८ हजार ४ सय ९३ जनसंख्या रहेको मकवानपुर बागमती प्रदेशकै तेस्रो बढी गरिब जिल्ला हो। मकवानपुरभन्दा बढी गरिब जिल्लामा रामेछाप (२५.०७ प्रतिशत) र सिन्धुली (३४.०२ प्रतिशत) रहेका छन्। प्रदेशमा सबैभन्दा कम गरिबी दर काठमाडौं जिल्लामा रहेको छ, जहाँ ८.३३ प्रतिशत जनसंख्या गरिब छन्।
देशभर करिब ५८ लाख नेपाली गरिबीको रेखामुनि रहेका छन्। नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० अनुसार देशको २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको देखिए पनि मकवानपुरमा यो दर राष्ट्रिय औसतभन्दा बढी अर्थात् २३.४६ प्रतिशत रहेको छ।
तथ्यांकले गरिबी न्यूनीकरणको अवस्था निराशाजनक रहेको पनि देखाएको छ। पछिल्लो १४ वर्षमा गरिबी दर जम्मा ५.१३ प्रतिशत बिन्दुले मात्र घटेको छ। आर्थिक वर्ष २०६६/०६७ मा सार्वजनिक जीवनस्तर सर्वेक्षणले नेपालको गरिबी २५.१६ प्रतिशत रहेको देखाएको थियो।
गरिबीको नयाँ आधिकारिक रेखाअनुसार प्रतिवर्ष प्रतिव्यक्ति ७२ हजार ९ सय ८ रुपैयाँभन्दा कम खर्च गर्ने व्यक्ति गरिब मानिन्छ। तेस्रो जीवनस्तर सर्वेक्षणका बेला यो सीमा प्रतिवर्ष प्रतिव्यक्ति १९ हजार २ सय ६१ रुपैयाँ (हालको मूल्यमा करिब ४२ हजार ८ सय ४५ रुपैयाँ) रहेको थियो।



