काठमाडाैँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट पार्टी सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ। बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै पार्टीको नेतृत्व सम्हाल्नुभएको हो।
सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समिति, का अनुसार यस चुनावमा कुल ५४ मत बदर भएको छ।
पार्टी सभापतिसहित केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि भएको मतदानमा ९६.२ प्रतिशत मत खसेको थियो। निर्वाचनमा २३१ पदका लागि ८११ जना उम्मेदवार चुनावी मैदानमा थिए।
महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भुसाल र काठमाडौं उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी पदहरूको मतगणना र परिणाम आउने क्रम जारी छ।


