अर्थ व्यापारमकवानपुरमै उत्पादित कुखुराको मासु काठमाडौँमा भन्दा हेटौँडामा महँगो

मकवानपुरमै उत्पादित कुखुराको मासु काठमाडौँमा भन्दा हेटौँडामा महँगो

हेटाैँडा । मकवानपुरमा उत्पादित बोइलर कुखुराको मासु काठमाडौँमा भन्दा हेटौँडाको स्थानीय बजारमै महँगोमा बिक्री भइरहेको पाइएको छ। जिल्लाबाट दैनिक दर्जनौँ गाडी कुखुरा काठमाडौँ पठाउने गरिए पनि स्थानीय उपभोक्ता भने आफ्नै क्षेत्रमा उत्पादित मासु महँगोमा किन्न बाध्य छन्।

​हाल हेटौँडामा बोइलर कुखुराको तयारी मासु प्रतिकिलो ४४० देखि ४५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मूल्य घटाएपछि काठमाडौँमा भने तयारी मासुको मूल्य प्रतिकिलो ३८५ रुपैयाँ कायम भएको छ। जसका कारण काठमाडौँको तुलनामा हेटौँडामा मासु प्रतिकिलो ५५ देखि ६५ रुपैयाँसम्म महँगो पर्न गएको हो।

​बजारमा खपत घटेको भन्दै संघले जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ र तयारी मासुमा १५ रुपैयाँ घटाएको छ। घटाइएको मूल्य अनुसार काठमाडौँमा जिउँदो कुखुरा २८० र तयारी मासु ३८५ रुपैयाँमा बिक्री भइरहेको छ। दशैँ मनाउन काठमाडौँबाहिर गएका मानिस पूर्ण रूपमा नफर्किएकाले उपत्यकामा माग घटेको व्यवसायीहरूको भनाइ छ।

​काठमाडौँ पठाउँदाभन्दा हेटौँडा बजारमै बिक्री गर्दा ढुवानी खर्च समेत कम लाग्ने भए पनि सप्लायर्स र व्यापारीले आफूखुसी मूल्य तोकेको स्थानीयको आरोप छ। हेटौँडा-५ का उपभोक्ता उमेश घिमिरेले किसानबाट सस्तोमा किनेर उपभोक्तालाई महँगोमा बेच्ने प्रवृत्ति रोक्न अनुगमनकारी निकायले ध्यान दिनुपर्ने बताए।

​यसअघि दशैँको मुखमा खसीको मासुमा समेत प्रतिकिलो १०० रुपैयाँ बढाएर १ हजार २०० रुपैयाँ पुर्‍याइएको थियो। चौतर्फी विरोधपछि व्यवसायीले मूल्यवृद्धि फिर्ताको घोषणा गरे पनि बजारमा अझै बढेकै मूल्यमा खसीको मासु बिक्री भइरहेको हेटौँडा-४ का स्थानीय श्याम सापकोटाले जानकारी दिए। बजार अनुगमनको जिम्मेवारी पाएका स्थानीय तह तथा प्रदेशका निकाय मौन बस्दा व्यवसायीको मनपरी बढेको उपभोक्ताको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार