काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज (सोमबार) देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुँदैछ। बेलुकी ५ बजे हुने उद्घाटन खेलमा अघिल्लो संस्करणका फाइनल प्रतिस्पर्धी लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।
यसपटक नेपाल क्रिकेट संघ (क्यान) ले पुरस्कार राशिमा वृद्धि गरेको छ। प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसअघिका दुवै संस्करणका विजेताले १ करोड १० लाख रुपैयाँ पाएका थिए।
मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौँ गोर्खाज गरी आठ टोली प्रतिस्पर्धामा छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त यस संस्करणमा मोइन अली, शाकिब अल हसन, डेविड वार्नर, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज जस्ता विश्व चर्चित विदेशी खेलाडीहरूको सहभागिता रहेको छ। यसपटक खेलमा निर्णय समीक्षा प्रणाली (डीआरएस) को समेत प्रयोग गरिनेछ।
प्रतियोगिताका लागि क्यानले लिग चरणका खेलमा साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको छ। एलिमिनेटर र फाइनल खेलका लागि साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रुपैयाँ निर्धारण गरिएको छ। टिकटको आधिकारिक बिक्री ईसेवामार्फत भइरहेको छ।


