देशबागमती प्रदेशभोटेकोशी करिडोरको सुरुङमा ३७ शव फेला

भोटेकोशी करिडोरको सुरुङमा ३७ शव फेला

काठमाडौँ । भोटेकोशी करिडोरमा बाढीपहिरोबाट प्रभावित आयोजनाको सुरुङमा खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ । सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई भने ११औँ दिनमा जीवितै उद्धार गरिएको थियो ।

शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले उद्धार कार्यबारे जानकारी दिएका हुन् । उनले सुरुङभित्र अत्यधिक हिलो, पानी र अक्सिजनको कमीका कारण खोजी कार्य जटिल बनेको बताए ।

थापाका अनुसार ९.७ किलोमिटर लामो सुरुङको नक्सा प्राप्त भएपछि दुई जना इन्जिनियरसँग समन्वय गरेर उद्धारको कार्ययोजना बनाइएको थियो । प्रारम्भिक निरीक्षणमा सुरुङ प्रवेशका दुईवटा सम्भावित स्थान मात्र भेटिएका थिए भने अन्य प्रवेशमार्ग पूर्ण रूपमा अवरुद्ध थिए ।

नेपाली सेना, चिनियाँ र कोरियन टोलीले संयुक्त रूपमा खोज तथा उद्धार अघि बढाएका थिए । पावरहाउस क्षेत्रमा रहेका करिब १२० देखि १३० कामदारमध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरबाट उद्धार गरिएको थापाले जानकारी दिए ।

हेलिकप्टर अवतरण सम्भव नभएका क्षेत्रमा उद्धार टोली साँघुरो र हिलोयुक्त सुरुङबाट भित्र पसेको थियो । कतिपय स्थानमा कम्प्रेसर मेसिनको सहायताले अवरोध हटाउँदै खोजी गरिएको थियो ।

यसै क्रममा सुरुङको माथिल्लो भागमा ढलान भइरहेको स्थानबाट एक चिनियाँ नागरिकलाई ११औँ दिनमा सकुशल उद्धार गरिएको हो । थापाका अनुसार ती नागरिकले हेलमेटमा पानी जम्मा गरेर पिउने र सुरुङभित्र हिँडेर समय बिताउने गरेको प्रारम्भिक जानकारी दिएका थिए ।

अडिट–३ बाट अस्ट्रेलियन उद्धार टोलीको ड्रोन प्रयोग गरी करिब एक हजार ७०० मिटर भित्रसम्मको अवस्था अध्ययन गरिएको थियो । त्यसपछिको सुरुङ पूर्ण रूपमा अवरुद्ध भेटिएको सेनाले जनाएको छ । खोजीका क्रममा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रक थुप्रिएको अवस्थामा भेटिएका थिए ।

थापाका अनुसार सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिट उचाइमध्ये १७ फिटसम्म पानी र लेदो जमेको छ । अडिट–१ क्षेत्रबाट पानी निकाल्ने विकल्पबारे आयोजना र इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको छ ।

आयोजनामा कोरियन, चिनियाँ, भारतीय र नेपाली कामदार कार्यरत थिए । खोज तथा उद्धारका लागि हाल नेपाली सेनाका ४२ जना परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार