काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जनताको समर्थनबाट एमाले फेरि सिंहदरबार पस्ने बताएका हुन्।
कसैको दया, माया वा कृपाले नभई संघर्ष र जनसमर्थनका बलमा एमाले सत्तामा पुगेको उनले उल्लेख गरे। विगतमा चौतर्फी घेराबन्दी र असंवैधानिक बाटोबाट सरकारबाट हटाइए पनि संवैधानिक प्रक्रियाबाटै पुनः नेतृत्वमा फर्किएको उनको भनाइ थियो।
’अलिक दिन फेसबुकमा लेख्दै गर, हेर्दाहेर्दै नेकपा (एमाले) सरकारमा जान्छ,’ सामाजिक सञ्जालमा पार्टीको राजनीतिक भविष्यबारे भइरहेका टिप्पणीप्रति लक्षित गर्दै ओलीले भने। उनले एमालेलाई कसैले मजाकको विषय बनाए पनि पार्टीले विकास र समृद्धिका अधुरा कामलाई अगाडि बढाउने बताए।
आगामी दिनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई अझ स्पष्ट दृष्टिकोण र दृढताका साथ कार्यान्वयनमा लैजाने अध्यक्ष ओलीले बताए। उनले एमाले देशको राष्ट्रियताको रक्षक र विकासको संवाहक शक्तिका रूपमा अघि बढ्ने दाबी गरे।


