काठमाडौं | नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा फेरबदल गरिएको छ। सरकारको निर्णयअनुसार वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइ हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशक नियुक्त गरिएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नयाँ कार्यकारी निर्देशकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयको जानकारी दिँदै एक मन्त्रीले भने, “नयाँ नेतृत्व आवश्यक देखिएकाले प्राधिकरणमा परिवर्तन गरिएको हो।”
नेपाल विद्युत प्राधिकरण समालेका घिसिङको नेतृत्वमा देशव्यापी लोडसेडिङ अन्त्य भएको थियो, जसका कारण उनी आम नेपाली माझ लोकप्रिय बनेका थिए। विद्युत उत्पादन, प्रसारण, र वितरण सुधारका क्षेत्रमा समेत घिसिङको नेतृत्व प्रशंसनीय मानिएको छ।
उनको कार्यकालमा प्राधिकरणले उल्लेखनीय प्रगति गरेको थियो। वित्तीय व्यवस्थापन सुधार गर्दै घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्याउने काम घिसिङको प्रमुख उपलब्धि मानिन्छ। साथै, जलविद्युत उत्पादनलाई प्रवर्द्धन गर्दै भारतलगायत अन्य मुलुकमा विद्युत निर्यातको सम्भावना पनि उनले उजागर गरेका थिए।
नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य
घिसिङको स्थानमा नियुक्त भएका हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणकै वरिष्ठ अधिकारी हुन्। यसअघि उनले विभिन्न पदमा रहेर प्राधिकरणमा सेवा गरिसकेका छन्। ऊर्जा क्षेत्रमा लामो अनुभव रहेका शाक्यले प्राधिकरणको नेतृत्वमा आएपछि रणनीतिक योजना लागू गर्ने अपेक्षा गरिएको छ।
सरकारले शाक्यलाई घिसिङकै कामलाई निरन्तरता दिने गरी अघि बढ्ने निर्देशन दिएको बताइएको छ। तर, घिसिङलाई हटाउने सरकारको निर्णयलाई लिएर सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखा परेको छ।
कुलमान घिसिङको बर्खास्तीपछि सर्वसाधारणदेखि ऊर्जा क्षेत्रका विज्ञहरू समेतले प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा कतिपयले घिसिङलाई हटाउनु सरकारको ‘अलोकप्रिय निर्णय’ भएको भन्दै असन्तुष्टि जनाइरहेका छन्।
सरकारले भने यसबारे थप स्पष्टीकरण नदिए पनि नयाँ नेतृत्वबाट प्राधिकरणले अझ प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेको छ। अब, हितेन्द्रदेव शाक्यको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले के कस्ता रणनीतिक निर्णय लिन्छ भन्ने चासोको विषय बनेको छ।