चितवन | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध अन्याय र प्रतिशोध भए पनि त्यसलाई व्यक्तिगत पीडाका रूपमा नभइ राजनीतिक सङ्घर्षको इन्धनका रूपमा लिएको बताएका छन्। भैरहवा कारागारबाट रिहा भएपछि चितवनको चौबिसकोटीमा आयोजित पहिलो सभालाई सम्बोधन गर्दै उनले आफू ‘विष बोकेर पनि बाँचेको’ टिप्पणी गरे।
“मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा छैन,” उनले भने, “तर तिनले मेरो शरीरमा छोडेको विष अझै बाँकी छ। म यही विष बोकेर पनि लडिरहेको छु, लडिरहनेछु।” आफूविरुद्ध भएको अन्यायलाई देश र पुस्तामाथि भएको अन्यायसँग जोड्दै उनले यसविरुद्ध अन्तिमसम्म संघर्ष गर्ने बताए।
लामिछानेले आफूलाई थुन्ने र झुटा मुद्दा लगाउने तत्कालीन सरकार नै अपदस्थ भई ‘हेलिकप्टरमा झुन्डिएर भाग्नुपरेको’ टिप्पणी पनि गरे। एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै उनले भने, “प्रतिशोध साँध्ने सरकार भागाभाग भयो। तर त्यही सरकारले लगाइदिएको मुद्दा बोकेर म आज पनि बाँचिरहेको छु।”
उनले व्यक्तिगत पीडाभन्दा देश र पुस्तालाई दिइएको पीडा ठूलो भएको उल्लेख गरे। “मलाई थुने, दुख दिए भनेर के चित्त दुखाउनु ? सिंगो देशलाई दुख दिएका छन्,” उनले भने, “हामीले बदला लिनुपर्दैन, हिसाब मिलाउनुपर्छ—भोक, शोक, बेरोजगारी, अशिक्षाविरुद्ध।”
सभामा लामिछानेले जेनजी आन्दोलनको खुलेर प्रशंसा गरे। “हामीले त चुनाव कुर्दै थियौँ, जेनजीले चुनाव कुर्नुभएन, बजाइदिनुभयो,” भन्दै उनले जेनजीको रगतको एक थोपा पनि खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे।
देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताउँदै उनले पार्टी र पदप्रति कुनै मोह नरहेको पनि दोहोर्याए। “मलाई केही चाहिएको छैन,” उनले भने, “चुनाव चिन्ह, झण्डा, अफिस, यहाँसम्म कि सभापति पद पनि चाहिन्छ भने लैजानुस्। देश बन्नुपर्यो, व्यक्ति ठूलो कुरा होइन।”
लामिछानेले मिल्नुपर्ने राजनीतिक शक्तिहरू अन्तिममा मिलेरै अघि बढ्ने दाबी गरे। आफू एक चुनावका लागि होइन, एउटा पुस्ताका लागि राजनीतिमा आएको उनको भनाइ थियो।
सभामा उनले सरकारलाई डर नमान्न र चुनावतर्फ दृढताका साथ अघि बढ्न आग्रह गरे। “निर्वाचनमा देश जानुपर्छ,” उनले भने, “जेनजीको रगतबाट चुनिएको सरकारले जेनजीको सपना पूरा गर्ने आँट गरोस्। रास्वपा सुशासन र निर्वाचनका सवालमा सरकारको साथमा उभिन्छ।”
सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका लामिछानेको यो पहिलो सार्वजनिक राजनीतिक सम्बोधन हो।



