Friday, January 17, 2025
समाजतपाईको बच्चालाई पनि अटिजम छ कि? बागमतीमा अटिजमको समस्या बढ्दै

तपाईको बच्चालाई पनि अटिजम छ कि? बागमतीमा अटिजमको समस्या बढ्दै

अटिजमका सामान्य लक्षण र उपचार

मकवानपुर: हाम्रो देशमा विभिन्न जातजाति, धर्म र संस्कृति छन् । अपाङ्गतामा पनि धेरै प्रकार र त्यसमा पनि विविधता छ । हामी अपाङ्गता भन्नेवित्तिकै शारीरिक अपाङ्गता, दृष्टिबिहिन, बहिरा इत्यादि सम्झन्छौं र सामान्यतया त्यस्ता व्यक्तिहरूको सरलै पहिचान पनि गर्छौं । तर हामीले यो बुझ्नु जरुरी छ कि सबै अपाङ्गता हेर्नेवित्तिकै बुझ्न र पहिचान गर्न सकिंदैन । तीमध्यको एउटा हो- “अटिजम”। अटिजम स्नायु र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने अपाङ्गता भएको डाक्टरहरु बताउछन ।

बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरू भन्छन्, ‘समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ, तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो ।’

यसलाई ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुने बागमती प्रदेश, स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख डा.खगेश्वर गेलाले बताउछन।

विश्व स्वस्थ्य संगठनको मान्यतामा प्रत्येक ६४ जनामध्ये एकजनामा कुनै न कुनै अटिजमको लक्षण रहेको हुन्छ । तर, नेपालमा अहिलेसम्म यो समस्याका बालबालिका के–कति छन् प्रष्ट तथ्यांक भने भेटिँदैन । भारतमा ८ करोड मानिसमा अटिजम भएको अनुमान छ । श्रीलङ्कामा २ लाख मानिसहरुलाई अटिजम भएको अनुमान गरिएको छ । कुनै न कुनै रुपमा नेपालमा पनि तीन लाख जनसंख्यामा अटिजमको समस्या रहेको हुनसक्ने जानकारवालाहरु बताउछन ।

फरक क्षमता भएका यस्ता व्यक्तिका लागि विशेष खालको व्यवहार आवश्यक पर्दछ । साथै, घरपरिवार तथा समाजले सकारात्मक दृष्टिकोण राख्ने हो भने यो समस्या धेरै सहज हुने डा गेलाको बुझाई छ । उनका अनुसार अटिजमबारे परिवारका सदस्य पनि खुल्नुपर्छ र आफ्ना घरपरिवारमा यस्तो समस्या भएका बालबालिका भएमा उनीहरूको समस्या समाधानका लागि लाग्नुपर्छ ।

नेपाली समाजमा अहिले कतिपय अभिभावक आफ्ना नानीबाबुमा यस्तो समस्या देखिएमा घरभित्रै समस्या लुकाउने र बाहिर नल्याउने गर्दा समस्या झनै थुप्रिएर रहने गरेको र यसले बाबुआमा नै डिप्रेसनमा जाने गरेको डाक्टरहरु बताउछन ।

बागमती प्रदेशमा अटिजमको समस्या बढ्दै
पछिल्लो सयमा बागमती प्रदेशमा पनि अटिजमको समस्या बढ्दै गएको छ । बागमती प्रदेशको स्वास्थ्य  मन्त्रालयको तथ्याङ्क अनुसार बागमती प्रदेशमा १ हजार २५३ जनामा अटिजमको समस्या रहेको छ । मन्त्रालयको तथ्याङ मकवानपुरमा ७७ जनामा अटिजमको समस्या देखापरेको छ । त्यस्तै, काठमाडौंमा ४९५, ललितपुरमा ८३, भक्तपुर ७८, चितवन ११३, नुवाकोटमा ६५ जनामा अटिजमको अवस्था रहेको छ । त्यस्तै सिन्धुपाल्चोकमा ५४, दोलखा ३३, सिन्धुली ६५, रामेछाप २८, काभ्रे ६५ र रसुवामा १७ जनामा अटिजमको अवस्था रहेको छ ।

प्रदेशका १३ वटै जिल्लामा अटिजम सम्बन्धि काम गर्ने संघसंस्थाको पहिचान गरेर अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । समयमै समस्याको पहिचान गरेर आवश्यक तालिम समेत प्रदान गर्ने मन्त्रालयको तयारी छ ।

अटिजमका सामान्य लक्षण

बालबालिकामा देखिने केही सामान्य लक्षणबाट उनीहरूमा रहेको अटिजम थाहा पाउन सकिन्छने डाक्टरहरु बताउछन  । एक्लै खेल्न मन पराउने, आँखा जुधाउन नसक्ने, अस्वाभाविक रूपमा हाँस्ने वा कराउने, उमेरअनुसार बोली नफुट्ने, आफू समान उमेरसमूहका साथीसँग घुलमिल हुन मन नपराउने, घाउचोट लाग्दा दुखाइ महसुस नहुने अटिजमका सामान्य लक्षण हुन् ।

अटिजम भएका बालबालिकाले सामान्य दुखाइ हुँदा चिच्याएर रुने कराउने गर्छन् । यसबाहेक उनीहरूले सांकेतिक भाषाको प्रयोग गर्न सक्दैनन् । उनीहरूमा उमेरअनुसार बौद्धिक क्षमता पनि उत्कृष्ट हुँदैन । सामान्यभन्दा कुनै ठूलो आवाज सुन्दा कान थुन्छन् र झर्को लागेजस्तो व्यवहार देखाउँछन् । यस्ता बालबालिकालाई सामान्य शिक्षण विधिबाट पठनपाठन गराउन सकिँदैन ।

अटिजमको उपचार

अटिजमको कुनै औषधि छैन । यसको मुख्य उपचार भनेको थेरापी नै हो । व्यवहार थेरापी सबैभन्दा उत्तम हुन्छ । त्यसैले अभिभावकले यससम्बन्धी थेरापी लिनु आवश्यक छ भनिएको हो ।  अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, संगीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ । यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरू रमाउने र खुसी हुने, उनीहरूलाई आराम दिने र यसका कारण उनीहरूमा रोग–प्रतिरोधक क्षमताको पनि विकास गर्न मद्दत पुग्दछ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img